यस वर्ष मुस्ताङमा ७ हजार ६३६ मेट्रिकटन स्याउ उत्पादन - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

यस वर्ष मुस्ताङमा ७ हजार ६३६ मेट्रिकटन स्याउ उत्पादन



काठमाडाैं । यस वर्ष मुस्ताङमा स्याउ उत्पादन बढेकाे छ । यस वर्ष एक अर्ब १० करोड बराबरको सात हजार ६३६ मेट्रिकटन स्याउ उत्पादन भएको कृषि ज्ञान केन्द्र मुस्ताङले जनाएकाे छ।

गत वर्ष ९१ करोड ८६ लाख ७२ हजार बराबरको सात हजार २३८ मेट्रिकटन स्याउ उत्पादन भएकाे थियाे ।

कृषि ज्ञान केन्द्र मुस्ताङका कृषि प्राविधिकहरुको स्थानीय किसानको फरक/फरक बगैंचा अनुगमन तथा स्याउको क्रप कटिङसम्बन्धी स्थानीय तहका कृषि शाखा र यहाँका किसानका आधारमा स्याउको उत्पादन निकालिएको केन्द्रका प्रमुख राजेश गुरूङले बताए।

यस वर्ष ८० प्रतिशत जिल्लाबाहिर निकासी भइसकेको छ भने १० प्रतिशत स्याउ जिल्लामै खपत भएको छ। साथै १० प्रतिशत हार्भेस्ट गर्न बाँकी रहेको केन्द्र प्रमुख गुरुङको भनाइ छ।

यसवर्ष छ हजार १०८ मेट्रिकटन बढी स्याउ जिल्लाबाहिर निकासी हुँदा ८६ करोड १८ लाख ४० हजार मुस्ताङ भित्रिएको केन्द्र प्रमुख गुरुङले बताए। साथै ७६३ मेट्रिकटन अर्थात् ११ करोड दुई लाख ३० हजार बराबर स्याउ जिल्लामै खपत भएको छ। अब ७६३ मेट्रिकटन स्याउ हार्भेस्ट गर्न बाँकी छ।

यहाँ कूल ८३२ हेक्टर क्षेत्रफलमा स्थानीय जातको स्याउ र ६० हेक्टर क्षेत्रफलमा उच्च घनत्वको हाइब्रिड स्याउ उत्पादनशील क्षेत्र छ। जसमा स्थानीय स्याउ छ हजार ६९ मेट्रिकटन र हाइब्रिड स्याउ एक हजार ५६७ मेट्रिकटन उत्पादन भएको कृषि ज्ञान केन्द्रले बताएको छ।

यहाँ स्थानीय स्याउ रु ७८ करोड ८९ लाख ७० हजार बराबरको उत्पादन भएको हो। हाइब्रिडतर्फ रु ३१ करोड ३४ लाख बराबरको स्याउ उत्पादन भएको केन्द्रले उल्लेख गरेको छ।

कृषि ज्ञान केन्द्रका अनुसार मुस्ताङमा स्थानीय स्याउ प्रतिकेजी १३० र हाइब्रिड स्याउ प्रतिकेजी २०० मा बिक्री भइरहेको छ। यसवर्ष स्थानीय स्याउ प्रतिहेक्टर उत्पादकत्व १० दशमलव ४१ मेट्रिकटन र हाइब्रिड स्याउको प्रतिहेक्टर उत्पादकत्व २६ दशमलव १२ मेट्रिकटनले उत्पादन भएको केन्द्रले जनाएको छ। गतवर्ष स्थानीय स्याउ प्रतिहेक्टर उत्पादकत्व १० दशमलव ७४ मेट्रिकटन भएकोमा यसवर्ष शून्य दशलव ३३ मेट्रिकटन प्रतिहेक्टर उत्पादकत्व घटेको छ।


प्रतिक्रिया दिनुहोस्