बुद्ध एयरका बस्नेतसहित तीन व्यवसायीको ‘गतिशील लोकतान्त्रिक पार्टी’ दर्ता, मूल अवधारणा के छ ?
बुद्ध एयरका बस्नेतसहित तीन व्यवसायीको ‘गतिशील लोकतान्त्रिक पार्टी’ दर्ता, मूल अवधारणा के छ ?
काठमाडौं । बुद्ध एयरका प्रबन्ध निर्देशक तथा व्यवसायी वीरेन्द्रबहादुर बस्नेतलगायत ३ जनाको समुहले नयाँ पार्टी खोलेका छन्।
वीरेन्द्रबहादुर बस्नेत, दिनेश प्रसाईं र पियुश कायस्थ मिलेर ‘गतिशील लोकतान्त्रिक पार्टी’ नामक नयाँ दल निर्वाचन आयोगमा दर्ता गराएका हुन् ।
बिहिबार दर्ता भएको गतिशील लोकतान्त्रिक पार्टीको अध्यक्षमा प्रसाईं, महासचिवमा कायस्थ र सदस्यमा बस्नेत रहेका छन् ।
‘सबै मिलौं, देश बचाऊँ, देश बनाऊँ’ भन्ने नाराका साथ अघि बढेको यो नयाँ दलले विगतका राजनीतिक दलहरूप्रति जनस्तरमा चुलिँदो असन्तुष्टिलाई सम्बोधन गर्ने दाबी गरेको छ।

राजनीतिमा पेशावादको अन्त्य र पारदर्शिताको प्रतिबद्धता
गत भदौ २४ को ’जेन जेड आन्दोलन’ ले देखाएको जनशक्ति र असन्तोषलाई सम्हाल्न असफल भएको वर्तमान राजनीतिलाई वैकल्पिक दिशा दिन नयाँ पार्टी उदाएको आह्वान पत्रमा उल्लेख गरीएको छ ।
पार्टीले राजनीतिलाई पेशा बनाउने प्रवृत्तिको आलोचना गर्दै, यसको सट्टा नागरिक–केन्द्रित, पारदर्शी र जवाफदेही शासन प्रणालीको खाका अघि सारेको छ।
पार्टीले पुराना दलहरूको चरम भ्रष्टाचार, सत्ता स्वार्थ र पहुँच आधारित संरचनालाई अन्त्य गर्दै नयाँ ढाँचाको राजनीतिक संस्कार विकास गर्ने जनाएको छ।
देशको सबै भुगोलमा सुशासन, उद्यमशीलता र समताको प्रतिबद्धता गर्दै संघीय स्तरमा प्रत्येक एजेण्डामा महासचिवहरु र प्रदेश र पालिकामा सचिवहरु रहने खाकामा उल्लेख छ ।
एक व्यक्ति एक पद र दुई कार्यकालको सीमाको प्रस्तावसहित राजनीतिमा दीर्घकालीन बसोबासको परम्परा तोड्ने लक्ष्य लिएको पार्टीले सार्वजनिक पद र पार्टी पदमा फरक व्यक्ति रहने व्यवस्था, पार्टी आम्दानी र खर्चको अनलाइन विवरण सार्वजनिक गरिने, र हरेक गतिविधिमा डिजिटल पारदर्शिता अपनाइने बताइएको छ।
साथै, २० प्रतिशतभन्दा कम मत पाएमा सरकारमा सहभागी नहुने अडान पार्टीको फरक विशेषता हो। यस दलले तिहारलगत्तै विस्तृत घोषणापत्र र कार्यक्रमहरू सार्वजनिक गर्दै राष्ट्रिय बहसको वातावरण बनाउने तयारी गरेको छ।
विधिको शासन र उद्यमशीलताको सम्मान
पार्टीले विधिको शासनलाई लोकतन्त्रको मेरुदण्ड मानेको छ। यो केवल सर्वसाधारण नभई राजनीतिक नेता, कर्मचारी, व्यापारी र उच्चपदस्थ व्यक्तिहरूका लागि पनि समान रूपमा लागू हुनु पर्ने अडान पार्टीको छ। ‘बेबी बुमरदेखि जेन जेड, अल्फा र बिटासम्म’ सबै पुस्तालाई विधिको शासनमा बाँध्ने धारणा अघि सारिएको छ।
त्यस्तै, पार्टीले उद्यमशीलता र निजी क्षेत्रलाई अर्थतन्त्रका खम्बा मानेको छ। स्वरोजगार सिर्जना गर्ने, कर तिर्ने र राष्ट्र निर्माणमा योगदान पु¥याउने उद्यमीहरूलाई सम्मान र संरक्षण गरिनेछ। उनीहरूको राजनीतिक सहभागिता नीतिगत रूपमा सुरक्षित र स्वच्छ बनाउन आवश्यक कानुनी संरचना विकास गरिनेछ।
अहिलेको कठिन अवस्थामा पनि देशलाई समृद्धितर्फ उकास्न सकिने सम्भावना बलियो रहेको भन्दै आम नागरिक, उद्योगी, प्रशासक र पेशेवर वर्गलाई एकजुट हुन आग्रह गरेको छ।
आगामी चुनावमा विरोधको राजनीति र पेशागत स्वार्थले फेरि प्रश्रय पाएमा देश गहिरो अन्धकारमा जान सक्ने चेतावनी दिँदै अबको राजनीति सोचयुक्त, सिर्जनशील, ईमानदारीमा आधारित र त्यागपूर्ण हुनुपर्ने अडान पार्टीले दोहोर्याएको छ।
गतिशील लोकतान्त्रिक पार्टीले नियमसंगत राजनीतिक संस्कार विकास गर्दै, आजको पुस्ता र भावी पुस्ताका लागि समावेशी र समतामूलक उज्यालो भविष्य सुनिश्चित गर्ने आफ्नो प्रतिबद्धता पुनः दोहोर्याएको छ।
तत्कालीन दलहरूले जनताको विश्वास गुमाउँदै गएका बेला, यो नयाँ दलले विकल्प खोजिरहेका मतदातालाई आकर्षित गर्न सक्ने अनुमान गरिएको छ।
https://www.arthapath.com/wp-content/uploads/2025/10/Gatishil-Loktantrik-Party.pdf













