१ कार्तिक २०८३, आइतबार

एमाले बैठकमा थापाको प्रश्न: हामी के म्याग्नेशियम र सोडियमका रुपमा प्रयोग भैरहेछौं ?



काठमाडौं । एमालेभित्रकै मानिसहरुलाई म्याग्नेशियम र सोडियमका रुपमा प्रयोग गरिएको छ कि ? यस्तो प्रश्न एमाले केन्द्रीय कमिटी वैठकमा उठेको छ । केन्द्रिय सदस्य गोविन्द थापाले यस्तो प्रश्न उठाएका थिए ।

गत भदौ २४ गते सिंहदरबार, सर्वाेच्च अदालत, संसद् सहित ठूला भवनहरु जलाउन संगठित गिरोहले महिनौंको तयारीपछि म्याग्नेशियम र सोडियम जस्ता घातक रासायनिक पदार्थ प्रयोग गरेको न्यूयोर्क टाइम्स अखबारले खुलासा गरेको छ । सो विषय उठाउँदै थापाले सिंहदरबार र संसद जलाउन प्रयोग गरे जसरी एमालेलाई जलाउन पनि म्याग्नेशियम र सोडियम प्रयाग गरिने खतरा औंल्याए ।

वैठकमा उनले भने, ‘षडयन्त्रकारीहरुले जेन्जीलाई अगाडि सारेर म्याग्नेशियम र सोडियम प्रयोग गरेर देश जलाए, उनीहरु नेकपा एमालेलाई पनि जलाउन चाहन्छन् भन्ने हामीले बुझेका छौं कि छैनौं ? षडयन्त्रकारीहरु नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई पनि जलाउन चाहन्छन् भन्ने बुझेका छौं कि छैनौं ? एमाले र ओलीलाई म्याग्नेशियम र सोडियमले सिध्याउन सकिँदैन, त्यसका लागि एमालेभित्रकै व्यक्तिहरुलाई म्याग्नेशियम र सोडियमका रुपमा प्रयोग गर्नुपर्ने हुन्छ ।’

केपी ओलीले अध्यक्ष पद छाड्नुपर्छ भन्नेहरुले कतै आफू म्याग्नेशियम र सोडियम बनिरहेको त छुइन भनेर आफैलाई सोध्नुपर्ने विचार थापाले राखे । थापाले भने,‘सत्रु सामुन्ने आइसक्यो, सत्रुले देश जलाई सक्यो । सत्रुले जेजे गर्नुपर्ने गरिसक्यो । सत्रुले भदौ २३ गते भीडमा घुसेर गोलीकाण्ड मच्चायो, गोलीले मान्छे भुट्ने अवस्था सिर्जना गर्न षडयन्त्र गर्यो ।’

सत्रुले अब म्याग्नेशियम र सोडियम कसरी प्रयोग गर्ने योजना बनाएको छ भन्ने हामीलाई थाहा छैन, हामीलाई के थाहा छ भने सत्रुको भण्डारबाट म्याग्नेशियक र सोडियम सकिएको छैन भन्ने विचार थापाको थियो ।