सूचीकृत कम्पनीहरुले वार्षिक नकिवरण शुल्क बुझाउने आज अन्तिम मौका, आज नतिरे के हुन्छ ?
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत कम्पनीहरुले वार्षिक नकिवरण शुल्क बुझाउने आज अन्तिम मौका रहेको छ ।
नेप्सेले चालु आर्थिक वर्ष २०८२–८३ को धितोपत्रको वार्षिक नविकरण शुल्क बुझाउन आजसम्मको म्याद तोकेको थियो । धितोपत्र सूचीकरण विनियमावली, २०७५ को अनुसूची ३ (क) र (ख) मा भएको व्यवस्था बमोजिम असोज मसान्तसम्म शुल्क बुझाउनुपर्ने थियो ।
सूचीकृत कम्पनीहरुमध्ये ५० करोडसम्म चुक्ता पुँजी हुनेले वार्षिक ५० हजार रुपैयाँ र ५० करोड भन्दा माथि हुने धितोपत्रको वार्षिक नविकरण शुल्क १ लाख रुपैयाँ तोकिएको छ ।
यता, डिवेन्चर, म्युचुअल फन्ड (सामुहिक लगानी कोषको) वार्षिक नविकरण शुल्क भने ५० करोडसम्म चुक्ता पुँजी हुनेले २५ हजार र ५० करोड भन्दा माथि हुनेले ५० हजार रुपैयाँ बुझाउनुपर्नेछ ।
नविकरण बापतको शुल्क नेपाल स्टक एक्सचेञ्ज लिमिटेडको खाता रहेको ग्लोबल आइएमई बैंक, कमलादीमा बुझाउनुपर्नेछ । खाता नम्बर ०७५०१०१००००७७५मा रकम जम्मा गरि बैंक भौचर नेप्सेमा इमेल गर्नुपर्नेछ ।
तोकिएको समयमा नविकरण शुल्क नबुझाएमा नविकरण शुल्कको वार्षिक १० प्रतिशतका दरले जरिवाना लाग्ने नेप्सेले जनाएको छ। यसका साथै धितोपत्रत्र सूचीकरण विनियमावली, २०७५ को विनियम १६ अनुसार सूचीकरण स्थगत गर्न सकिनेछ ।














