१० श्रावण २०८३, आइतबार

अर्थमन्त्री खनाल र सिंगापुरका राष्ट्रपति थार्मानबीच भेटवार्ता, आर्थिक साझेदारीबारे छलफल

अर्थमन्त्री खनाल र सिंगापुरका राष्ट्रपति थार्मानबीच भेटवार्ता, आर्थिक साझेदारीबारे छलफल



काठमाडाैं । अर्थमन्त्री रामेश्वर प्रसाद खनालले सिंगापुरका राष्ट्रपति थार्मान शनमुगारात्‌नमसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।

विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भाग लिन अमेरिकामा रहेका अर्थमन्त्री खनालले शनमुगारात्‌नमसँग भेटवार्ता गरेका हुन् ।

भेटमा राष्ट्रपति थार्मानले देशको तिव्र आर्थिक विकासका मानव पुँजी, पूर्वाधार, उर्जा, व्यापार र खुल्लापनमा लगानी केन्द्रित गर्न अर्थमन्त्रीलाई सुझाव दिए।

अर्थमन्त्री खनालले नेपाल सरकारले युवाको चाहना अनुरुप सुशासन कायम गरी आर्थिक विकासमा केन्द्रित हुने लक्ष्यका साथ काम गरिरहेको बताए।

यस्तै अर्थमन्त्री खनालले आजै अन्तर्राष्ट्रिय वित्त निगमका उपाध्यक्ष सहितका अधिकारीहरुसँग समेत अन्तर्क्रिया गरेका छन्। सो अवसरमा उनले अन्तर्राष्ट्रिय वित्त निगमले नेपालमा लगानी बढाउँदै लगेकोमा धन्यवाद दिए ।

नेपालमा निजी क्षेत्रको विकास र प्रतिस्पर्धात्मक क्षमता विकासमा निगमको थप लगानी र प्राविधिक सहयोगको अपेक्षा गरेकाे उनले बताए।

अन्तर्राष्ट्रिय वित्त निगमका अधिकारीहरुले नेपालमा निगमको लगानी वृद्धि गरिने जानकारी दिंदै अन्तर्राष्ट्रिय पुँजीको आप्रवाह बढाउन केही कानुनी र नियामकिय प्रवन्धहरुमा सुधारको खाँचो रहेको बताएका थिए। प्रतिउत्तरमा मन्त्री खनालले नियामकीय प्रवन्धहरुमा तत्काल सुधार गर्ने उल्लेख गर्दै कानुनी सुधारका लागि समेत आवश्यक तयारी गरिने बताए।