१० श्रावण २०८३, आइतबार

झिलीमिली तिहार : लक्ष्मी पूजामा विद्युत माग १७ सय मेगावाटसम्म पुग्ने, के छ प्राधिकरणको तयारी ?

झिलीमिली तिहार : लक्ष्मी पूजामा विद्युत माग १७ सय मेगावाटसम्म पुग्ने, के छ प्राधिकरणको तयारी ?



काठमाडौं । सालभरिका चाडपर्वहरूमध्ये तिहारको रौनक केही फरक नै हुन्छ । घर आँगनदेखि गल्लीका छतसम्म झिलीमिली बत्तीले सजिने तिहारले उज्यालो पर्वको पनि परिचय पाएको छ ।

विशेषगरी लक्ष्मी पूजाको साँझ घर–घरमा चम्किने बिजुलीका झिल्काहरू सौन्दर्यको प्रतीक हुन्छन् । उक्त दिन दिन विद्युत् मागको शिखर पनि बन्न पुग्दछ । उज्यालो पर्वको रौनकमा यो वर्ष पनि लक्ष्मी पूजाको दिन विद्युत् माग उच्च हुने भएको छ ।

यो वर्ष आज अर्थात्कात्तिक ३ गते सोमबार लक्ष्मी पूजाको साँझ देशभर विद्युत् माग १६ सयदेखि १७ सय मेगावाटसम्म पुग्ने अनुमान गरिएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार तिहार विदाका कारण औद्योगिक क्षेत्रहरू प्राय: बन्द हुने भएकाले घरायसी विद्युत् खपत उल्लेखनीय रूपमा बढ्नेछ ।

हाल देशभर नियमित अवस्थामा अधिकतम विद्युत् माग २१०० मेगावाटभन्दा बढी रहेको छ । तर, तिहारको समयमा उद्योग र कार्यालयहरू बन्द हुने हुँदा औद्योगिक खपतमा गिरावट आउँछ । त्यसको सट्टा झिलीमिली बत्ती, विद्युतीय दियो, डेकोरेशन लाइटजस्ता उपकरणहरूको प्रयोग अत्यधिक हुने भएकाले घरायसी खपत उच्च हुने अनुमान गरिएको हो । यो सामान्य घरायसी खपतभन्दा धेरै हो ।

गत वर्ष लक्ष्मी पूजाको दिन साँझ ६:२५ बजे विद्युतको अधिकतम माग १६०२ मेगावाट पुगेको थियो । यसअघि २०८० सालमा माग १४३८ मेगावाट र २०७९ सालमा १३०५ मेगावाट रेकर्ड गरिएको थियो। यसले माग वर्षेनी बढिरहेको संकेत गर्छ ।

विद्युत् आपूर्तिमा समस्या नआउने प्राधिकरणको दाबी

तिहारजस्तो विशेष अवसरमा विद्युत् सेवा अबरुद्ध नहोस् भन्नका लागि नेपाल विद्युत् प्राधिकरणले व्यापक तयारी गरेको जनाएको छ ।

विद्युत् जडित क्षमता अहिले करिब ३७०० मेगावाटको हाराहारीमा छ भने उत्पादन २८००–२९०० मेगावाटको आसपासमा भइरहेको छ। यसले गर्दा माग अनुसारको आपूर्ति सहजै सम्भव हुने प्राधिकरणको भनाइ छ ।

साथै, आवश्यक परेमा विद्युत् निर्यात गर्नेसम्मको सम्भावना रहेको समेत प्राधिकरणले उल्लेख गरेको छ । विद्युत वितरण लाइनमा लोड बढ्ने जोखिमलाई ध्यानमा राखेर जनशक्ति तयारी अवस्थामा राखिएको र तत्काल समस्या समाधान गर्न योजना बनाइएको समेत प्राधिकरणले जनाएको छ ।

कुनै स्थानमा आपूर्ति अवरुद्ध भए तत्काल मर्मत तथा व्यवस्थापन गर्नका लागि आवश्यक उपकरण, टोली र संयन्त्र तयारी अवस्थामा छन् ।

हालैका दिनहरूमा कतिपय स्थानमा विद्युत् जाने समस्या देखिएकोले उपभोक्ताहरू केही सशंकित देखिएका छन् । तिहार जस्तो बेला त्यस्तो समस्या नदोहोरियोस् भन्ने उनीहरूको अपेक्षा छ । तर, प्राधिकरणले यसपालिको तिहारमा ‘लोडसेडिङ’ वा आपूर्ति समस्या नहुने स्पष्ट दाबी गरेको छ ।

तिहारको उज्यालो झलमलसँगै विद्युत् आपूर्तिको विषयले पनि महत्व पाउने गरेको छ । यसपालिको लक्ष्मी पूजामा खपत बढ्ने निश्चित देखिएसँगै आपूर्ति पक्ष सुदृढ रहेकोले उपभोक्ताहरूले ढुक्क भएर तिहार मनाउन प्राधिकरणले आग्रह गरेको छ ।