धावनमार्गबाट चिप्लिएर समुद्रमा खस्यो कार्गो विमान, २ जनाको मृत्यु
एजेन्सी । हङकङ अन्तर्राष्ट्रिय विमानस्थलमा एउटा कार्गो विमान सोमबार बिहान रनवेबाट चिप्लिएर समुद्रमा खस्दा दुईजना ग्राउन्ड स्टाफको मृत्यु भएको छ ।
एमिरेट्सको उडान ईके९७८८ दुबईबाट स्थानीय समय अनुसार बिहान ३ः५० बजे अवतरण गर्ने क्रममा विमान रनवेबाट बाहिर गएर विमानस्थलको गस्ती सवारीसँग ठोक्किएको थियो ।
गाडीमा सवार दुईजनाको मृत्यु भएको छ भने विमानमा रहेका चारै जना चालक दलका सदस्यहरू जीवित बचेका छन् ।
विमानमा रहेका चारै चालक दलका सदस्यहरूले दुर्घटनापछि तुरुन्तै आपतकालीन ढोका खोलेका थिए । उद्धारकर्मीहरू दुई मिनेटमै घटनास्थल पुगेका र उनीहरूलाई सुरक्षित निकालेको अधिकारीहरूले जनाएका छन् ।
यो घटना पछिल्ला वर्षहरूमा हङकङमा भएको सबैभन्दा गम्भीर विमान दुर्घटनामध्ये एक हो । हङकङ अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा रेकर्ड सामान्यतया राम्रो रहँदै आएको छ ।
संबन्धित अधिकारीहरूले दुर्घटनाको अनुसन्धान सुरु गरेका छन् । अवतरणको क्रममा विमानले लिएको मार्गबारे अझै प्रश्नहरू उठिरहेका छन् ।
तस्बिरहरूमा विमान दुई भागमा टुटेको देखिन्छ । विमानको पछाडिको भाग समुद्रमा डुबेको र ठूला चिरा परेका स्पष्ट रूपमा देखिएका छन् ।
हङकङ एयर एक्सिडेन्ट इन्भेस्टिगेसन अथोरिटीका एक अधिकारीका अनुसार उनीहरूले अझै समुद्रबाट उडान डाटा रेकर्डर र ककपिट भ्वाइस रेकर्डर (ब्ल्याक बक्स) खोजिरहेका छन् ।
घटनाबाट प्रभावित रनवे आजको बाँकी दिनभर बन्द रहनेछ, तर अन्य दुई रनवे सञ्चालनमा छन् । सोमबार हङकङ अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न तय भएका कम्तीमा ११ वटा कार्गो उडानहरू रद्द भएका छन् ।













