१० श्रावण २०८३, आइतबार

प्रचण्डको सचिवालयबाट गंगा दाहालले किन दिइन् राजीनामा ?

प्रचण्डको सचिवालयबाट गंगा दाहालले किन दिइन् राजीनामा ?



काठमाडौं । नेकपा (माओवादी केन्द्र)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’की छोरी गंगा दाहालले पार्टी सचिवालयबाट राजीनामा दिएकी छन् ।

दाहालले सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत एक विज्ञप्ति जारी गर्दै आफूलाई देखाएर पार्टी संयोजक प्रचण्ड र समग्र माओवादी केन्द्रमाथि योजनाबद्ध रूपमा प्रहार भइरहेको आरोप लगाउँदै सचिवालयको जिम्मेवारी त्यागेको घोषणा गरेकी हुन् ।

फेसबुक स्टाटसमार्फत उनले पछिल्ला दिनमा विभिन्न सञ्चार माध्यममा आफ्नो बारेमा आएको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेकी छन् ।

उनले लेखेकी छन्, “भाइ प्रकाश दाहालको देहवसानपछि मम्मी सीता दाहाल बिरामी हुनुभएको अवस्थामा बुवाको सचिवालयमा जिम्मेवारी लिएर आएँ । पार्टी नेताहरूको सल्लाहमा निस्वार्थ भावनाले काम गरेँ । तर, जतिसुकै विवादरहित भएर काम गरे पनि विवादमा परिनै रहिन्छ जस्तो लाग्यो ।”

उनले पार्टी, आन्दोलन र बुवाको हितका लागि सचिवालयको जिम्मेवारीबाट बाहिरिने निर्णय गरेको स्पष्ट पार्दै लेखेकी छन्, “निरन्तर मलाई देखाएर बुवा र पार्टीविरुद्ध योजनावद्ध प्रहार भइरहेकाले यस्तो अवस्थामा सचिवालयको जिम्मेवारीबाट बाहिरिँदा नै पार्टी र आन्दोलनका लागि राम्रो होला भन्ने निष्कर्षमा पुगेकी छु ।”

साथै, उनले पार्टीको जिम्मेवार कार्यकर्ता भएकाले आजीवन रूपमा पार्टीमा भने क्रियाशील रहने जनाएकी छन् ।

दाहालले सञ्चार माध्यममार्फत आफ्नो चरित्रमाथि प्रश्न उठाउने गरी गरिएको ‘कुप्रचार’प्रति पनि असन्तुष्टि जनाएकी छन् । उनले महँगो ब्याग र घडी किनेको भन्ने हल्ला असत्य भएको बताउँदै ती सामग्री साथीहरूले उपहारस्वरूप दिएको र अहिले ती वस्तु पनि नष्ट भइसकेको स्पष्ट गरेकी छन् ।