१० श्रावण २०८३, आइतबार

आजबाट शुरु भयो नेपाल संवत् ११४६, न्हूँदयाभिन्तुना

आजबाट शुरु भयो नेपाल संवत् ११४६, न्हूँदयाभिन्तुना



काठमाडौं । कार्तिक शुक्ल प्रतिपदा अर्थात् आजैको दिनबाट नेपाल सम्वत् ११४६ शुरु भएको छ । यस दिनलाई नेपाल सम्वत् नयाँ वर्ष अर्थात् ‘न्हूँदयाभिन्तुना’ भन्ने गरिन्छ । यस सम्वतलाई नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् ।

भक्तपुरका एकजना भूमिपति शंखधर सा:ख्वाले विसं ९३७ (इश्रवी सम्वत् ८८०) मा काठमाडौँ उपत्यकाका गरिब जनताको ऋणमोचन गरिदिएर ‘नेपाल सम्वत्’ सुरुवात् गराएका थिए । यो सम्वत् तत्कालिन नेपाल राज्य अर्थात् काठमाडौँ उपत्यकामा लामो समयसम्म औपचारिक क्यालेन्डरका रुपमा प्रचलनमा थियो ।

लिच्छविकालका राजा राघवदेवको शासनकालबाट सुरु भएको नेपाल सम्वत् वि.सं. १८२५ मा पृथ्वीनारायण शाहले काठमाडौँ विजय गरेपछि भने औपचारिक वा प्रशासनिक रुपमा राष्ट्रिय सम्वतको रुपमा निरन्तारा पाएन । यद्यपि, काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वरलगायत क्षेत्रमा बसोबास गर्ने नेवार समुदायले सधैँभरी नयाँ निरन्तरता दिँदै आए ।

अहिले ‘न्हूँदयाभिन्तुना’ पनि त्यसै क्षेत्रका नेवारहरुले विशेष उत्सवमा रुपमा मनाउँछन् । विक्रम सम्वतमा वैशाख, जेठ, असार भनेजस्तै नेपाल सम्पतमा पहिलो महिना ‘कछला’ हुन्छ । यो महिना मंसिरको औँशीसम्म कायम रहन्छ । त्यसपछि ‘थिँल्ला’ महिना सुरु हुन्छ । तर नेवारहरुले महिनाको पूर्वार्ध अर्थात् शुक्लपक्षलाई ‘थ्व’ र उत्तरार्ध अर्थात् कृष्णपक्षलाई ‘गा’ भन्ने गर्छन् । त्यसैले ‘कछला थ्व’, ‘कछला गा’ अथवा ‘थिँल्ला थ्व’, ‘थिँल्ला गा’ हुँदै जान्छ ।

तेस्रो महिनालाई ‘पोहेला’, चौँथोलाई ‘सिल्ला’, पाँचौँलाई ‘चिल्ला’ र छैटौँ महिनालाई ‘चौला’ भनिन्छ । यो चौला महिना चैतको शुक्लपक्ष प्रतिपदाबाट शुरु हुन्छ । यही दिनबाट शकसम्वत् पनि शुरु हुन्छ । संवत्सर पनि यही दिनबाट फेरिन्छ । विक्रम सम्वतको नयाँ वर्ष पनि चौला महिनामै पर्छ । त्यसपछि ‘वछला’, ‘तछला’, ‘दिल्ला’, ‘गुँला’, ‘ञला’ र ‘कौला’ महिना हुन्छन् । हामीले मनाउने सोह्र श्राद्ध ‘ञला गा’ र दशैँ ‘कौला थ्व’मा पर्छन् ।

विसं २००७ मा प्रजातन्त्रको स्थापना भएपछि काठमाडौँका नेवारहरुले नेपाल सम्वतलाई नै राष्ट्रिय क्यालेन्डरको मान्यताका लागि अभियान चलाइएका थिए । पछि २०५६ सालको नयाँ वर्षका दिनमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले सा:ख्वालाई राष्टिय विभूति घोषणा गरेका थिए ।

तत्कालिन सरकारले उनलाई ‘गरिब जनताको ऋणमोचन गराई सामाजिक सेवाको उत्कृष्ट नमूना प्रस्तुत गरेको र नेपालमा मौलिक सम्वत् समेत चलाएको’ कार्यको उच्च मूल्याङ्कन गर्दै विभूति घोषणा गरेको थियो ।