पर्यटनदेखि उत्पादनसम्म : ३११ परियोजनाका लागि तीन महिनामा ३५ अर्बको वैदेशिक लगानी प्रतिवद्धता
पर्यटनदेखि उत्पादनसम्म : ३११ परियोजनाका लागि तीन महिनामा ३५ अर्बको वैदेशिक लगानी प्रतिवद्धता
काठमाडौं । नेपालमा आउने वैदेशिक लगानी प्रतिवद्धता बढ्दो देखिएको छ । तीन महिनामै सवा ३५ अर्ब हाराहारीको वैदेशिक लगानी प्रतिवद्धता आएको छ ।
उद्योगले विभागले हालै प्रकाशन गरेको चालु आर्थिक वर्ष २०८२–८३ को पहिलो तीन महिनाको तथ्याङ्कले यस्तो देखाएको हो । केही समयदेखि सुस्त रहेको वैदेशिक लगानी प्रतिवद्धतामा पुन: गति देखिन थालेको छ ।
विभागका अनुसार साउन, भदौ र असोज महिनामा ३५ अर्ब १३ करोड ७७ लाख ८६ हजार रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको हो । तीन महिनामा ३११ वटा परियोजना मार्फत सो बराबरको लगानी प्रतिवद्धता आएको विभागले जनाएको छ ।
विभागका अनुसार कागजी प्रक्रियाबाट ठुलो लगानी प्रतिवद्धता आएको देखिन्छ । समिक्षा अवधिमा अटोमेटिक रुट मार्फत १९७ वटा परियोजनाका लागि ३३ अर्ब २७ करोड ४८ लाख रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिवद्धता आएको छ । स्वीकृति मार्ग अर्थात् अप्रुभल रुट मार्फत भने ११४ वटा परियोजनाका लागि १ अर्ब ८६ करोड २९ लाख ८६ हजार रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको छ ।
विभागका अनुसार असोज महिना मात्रै ७५ वटा परियोजनका लागि थप २ अर्ब ४ करोड ५७ लाख ३२ हजार रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिवद्धता आएको छ । गत भदौ १०९ वटा परियोजनका लागि ८ अर्ब ९८ करोड ५९ हाजर रुपैयाँ र साउनमा १२७ वटा परियोजनका लागि २४ अर्ब बढीको लगानी प्रतिवद्धता आएको थियो ।
तीन महिनामा १८ वटा प्रविधि हस्तान्तरण सम्झौता तथा शेयर खरिद/सब्स्क्रिप्सनमार्फत थप १ करोड ९० लाख रुपैयाँ बराबरको लगानी प्रस्ताव आएको विभागले जनाएको छ ।

विभागका अनुसार ७ वटा ठुला उद्योगका लागि लगानी प्रतिवद्धता आएको छ । यस्तै, मध्यम खालका ४ वटा र साना तथा मझौला ३०० उद्योगका लागि लगानी प्रस्ताव आएको हो ।
लगानी प्रतिवद्धता आएका ३११ वटा परियोजना संचालनमा आएको खण्डमा ३३ हजार ८१४ जनाले रोजगारी पाउने विभागले जनाएको छ । हालसम्म भने कुल ६ खर्ब ८६ अर्ब ५५ करोड ९९ लाख रुपैयाँ बराबरको वेदेशिक लगानी प्रतिवद्धता आएको छ ।

विभागका अनुसार सबैभन्दा ठुलो लगानी प्रतिवद्धता सूचनाप्रविधि मुलक क्षेत्रका लागि आएको देखिन्छ । सो क्षेत्रका १६२ वटा परियोजनाका लागि लगानी प्रस्ताव आएको हो । यो कुल प्रस्तावित परियोजनको ५२ प्रतिशत हुन आउँछ ।
यस्तै, पर्यटन क्षेत्रका १०३ वटा, सेवामुलक तर्फ १९, उत्पादनमुलक १५ वटा, कृषि तर्फ ११, खनिज तर्फ १ परियोजनका लागि लगानी प्रस्ताव आएको विभागको आँकडा छ ।













