१० श्रावण २०८३, आइतबार

बैंकहरुको सीडी रेसियो अहिले पनि उच्च, कसिकसाउमा प्राइम र एनएमबी

बैंकहरुको सीडी रेसियो अहिले पनि उच्च, कसिकसाउमा प्राइम र एनएमबी



काठमाडौँ । लामो समयदेखि वित्तीय प्रणालीमा अधिक तरलता थुप्रिएको र बैंकहरुले लगानी गर्नै नसकेको भनेका बेला पनि केही बैंकको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) उच्च रहेको देखिएको छ ।

जम्मा २० मध्ये ६ बैंकले त आफ्नो कुल निक्षेपको ८० प्रतिशतभन्दा बढी कर्जा लगानी गरेका छन् । नेपाल बैंकर्स संघका अनुसार प्राइम बैंक यसमानेमा सबैभन्दा अगाडी देखिएको छ ।

प्राइमले गत असोज मसान्तसम्म कुल कर्जाको ८६.२६ प्रतिशत ऋण प्रवाह गरेको छ । त्यसपछि एनएमबी बैंकले निक्षेपको ८४.८८ प्रतिशत कर्जा प्रवाह गरेको छ । विगतमा आक्रामक कर्जा विस्तार गर्ने एनआईसी एसियाजस्ता बैंकले आफ्नो व्यवसायको आकार घटाइरहेका बखत यी बैंकभने धमाधम नयाँ कर्जा दिइरहेका छन् । उनीहरुले वित्तीय व्यवस्थापनलाई चुस्त राख्न नयाँ कर्जा पनि बढाउँदै लगेका हुन् ।

पछिल्लो समय कर्जा घटाएको देखिए पनि सिद्धार्थ बैंकको सीडी रेसियो तेस्रो सबैभन्दा बढी देखिन्छ । त्यसपछि सानिमा, सिटिजन्स र कुमारी बैंकको कर्जा निक्षेप अनुपात उच्च अर्थात् ८० प्रतिशतभन्दा माथि छ ।

हिमालयन, माछापुच्छ्रे, नबिल र लक्ष्मी सनराइज बैंकले पनि ८० प्रतिशतकै छेउछाउमा सीडी रेसियो पुर्याएका छन् । एभरेष्ट र ग्लोबल आईएमईले कुल निक्षेपको ७५ प्रतिशत हाराहारी कर्जा लगानी गरेका छन् । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक त्यसभन्दा पछाडी छ । वित्तीय व्यवस्थापनमा सरकारी बैंकहरु र अरु केही बैंकभने पिछडिएको देखिन्छ । सरकारको करीव पूर्ण स्वामित्व भएको र धेरैजसो सरकारी भुक्तानीको कारोबार गर्ने राष्ट्रिय वाणिज्य बैंकको सीडी रेसियो ६०.९८ प्रतिशत छ । यो सबैभन्दा कम हो ।

कृषि विकास र नबिल ७० प्रतिशतको नजिक पुगेका छन् भने प्रभू र नेपाल एसबीआई पनि त्यसकै छेउछाउ पुगेका छन् । एनआईसी एसिया र स्ट्याण्डर्ड चार्टर्डले भने राष्ट्रिय वाणिज्य बैंकलाई नै पच्छ्याएका छन् ।