हिउँदे खेतीका लागि रासायनिक मल पर्याप्त, २ लाख १८ हजार टन आउँदै
काठमाडौं । रासायनिक मल आपूर्तिको प्रक्रिया तीव्र बनेको छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार हालसम्म २ लाख १८ हजार टनभन्दा बढी मल आपूर्ति चरणमा रहेको छ । यो चालु आर्थिक वर्ष २०८२–८३ को कात्तिक ९ गतेसम्मको विवरण हो ।
कृषि सामग्री कम्पनी लिमिटेडको १ लाख ३३ हजार टन र साल्ट ट्रेडिङ कर्पोरेसनको करिब ८५ हजार टन मल आपूर्ति प्रक्रियामा रहेको मन्त्रालयले जनाएको छ ।
यस्तै, देशभर हाल १ लाख २० हजार टनभन्दा बढी रासायनिक मल मौज्दात छ । जसमा कृषि सामग्री कम्पनीको ७१ हजार ३५८ टन र साल्ट ट्रेडिङको ४८ हजार ७३३ टन मल छ ।
गत साउनदेखि ९ कात्तिकसम्म १ लाख ४४ हजार टन मल बिक्री भइसकेको मन्त्रालयको तथ्यांकले देखाएको छ । हिउँदे खेतीका लागि आवश्यक मल पर्याप्त मात्रामा उपलब्ध हुने मन्त्रालयको दाबी छ ।
सरकारले चालु आर्थिक वर्षका लागि ६ लाख मेट्रिक टन मल आयात गर्ने लक्ष्यसहित २८ अर्ब ८२ करोड रुपैयाँको बजेट विनियोजन गरेको छ । हालसम्म ४ लाख ७१ हजार मेट्रिक टन मलको बोलपत्र आह्वान भइसकेको छ ।
















