लुटपाटको आरोपमा गोलढुंगाबाट २ जना पक्राउ
काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिकास्थित गोलढुंगा फूलबारी गेट नजिक एक युवकलाई लुटपाट गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बुधबार राति करिब ११ बजेतिर भएको घटनामा मकवानपुरको भिमफेडी गाउँपालिका–५ का २६ वर्षीय सूर्य बहादुर घलान र सिन्धुलीको दुधौली नगरपालिका–१० का २३ वर्षीय मनोज चौधरी पक्राउ परेका हुन् ।
पक्राउ परेकाले बा ४२ प ४०६९ नं.को कालो पल्सर मोटरसाइकल प्रयोग गरेर धारिलो हतियार देखाएर एक युवकको ब्याग लुटेका थिए । प्रहरीले मोटरसाइकल र लुटिएको ब्यागसहित उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
लुटिएको ब्यागमा केही नगद, रोलेक्स घडी र अन्य सामान रहेको थियो । पक्राउ परेकाहरूको साथबाट खुकुरी र ट्रामाडोल नामक लागुऔषध पनि बरामद गरिएको छ । प्रहरीले उनीहरुलाई वृत्त बालाजुमा राखेर थप अनुसन्धान सुरु गरेको जानकारी दिएको छ ।















