१ कार्तिक २०८३, आइतबार

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज, १५औं महाधिवेशन मुख्य एजेन्डा



काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज दिउँसो १ बजेबाट ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय बिपी स्मृति भवनमा बस्दैछ ।

गत असोज २८ गतेदेखि सुरु भएको बैठक अहिले पार्टीभित्रका महत्वपूर्ण राजनीतिक र संगठनात्मक विषयमा केन्द्रित भइरहेको छ । आजको बैठकमा १५औं महाधिवेशनको तयारी मुख्य एजेन्डा रहनेछ ।

सभापति शेरबहादुर देउवा नेतृत्वको वर्तमान कार्यसमितिको कार्यकाल मङ्सिरभित्र सकिँदैछ । बैठकमा पार्टीको नियमित महाधिवेशन गर्ने कि विशेष महाधिवेशन बोलाउने भन्ने विषयमा पनि निर्णय हुने अपेक्षा गरिएको छ ।

केही नेताहरूले विशेष महाधिवेशनको मागसहित ५४ प्रतिशत प्रतिनिधिको हस्ताक्षर अभियान अघि बढाइसकेका छन् ।

पार्टीका सभापति देउवाले स्वास्थ्य कारणले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका छन् । बैठकमा भदौमा भएको ‘जेनजी’ प्रदर्शन, अन्तरिम सरकार गठन, प्रतिनिधिसभा विघटनपछिको राजनीतिक अवस्था र पार्टीको भूमिका बारे पनि छलफल हुने जनाइएको छ ।