१० श्रावण २०८३, आइतबार

जोमसोम–कोरला सडकमा पहिरो, मुक्तिनाथ जाने यात्रु रोकिए

जोमसोम–कोरला सडकमा पहिरो, मुक्तिनाथ जाने यात्रु रोकिए



काठमाडौं । अविरल वर्षासँगै राष्ट्रिय गौरवको जोमसोम–कोरला सडकखण्डका विभिन्न भागमा पहिरो खस्दा यातायात सेवा ठप्प भएको छ ।

जोमसोमदेखि कागबेनी र कागबेनीदेखि छुसाङसम्म करिब आधा दर्जन स्थानमा सडक अवरुद्ध भएको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जानकारी दिएको छ ।

जोमसोम–कागबेनी सडकअन्तर्गत पाण्डा खोलानजिक तीन ठाउँमा पहिरोले सडक संरचना क्षतिग्रस्त बनाएको छ । जोमसोमदेखि करिब दुई किलोमिटरमाथिको कालोपत्र सडक २५ मिटरसम्म भासिएर जोखिम बढेको छ ।

बिहीबार साँझ पाण्डा खोलाको बाढीले सडक थप क्षतिग्रस्त बनाएको भए पनि सुरक्षा निकायले अस्थायी रूपमा सडक सञ्चालनमा ल्याएको जनाएको छ । पहिरो खसिरहेकाले जोमसोमदेखि मुक्तिनाथतर्फका सवारीसाधनलाई रोकिएको छ ।

त्यस क्रममा एक सार्वजनिक ट्याक्सीमा क्षति पुगेको र एक भारतीय कार पहिरोमा फसेको प्रहरीले जनाएको छ । यसैगरी कागबेनी–छुसाङ सडकखण्डका करिब आधा दर्जन ठाउँमा बाढीपहिरोले सडक बगाएको बताइएको छ ।

अवरुद्ध सडकमा फसेका १७ यात्रुलाई सुरक्षित स्थानमा राखिएको छ । सडक मर्मत र आवागमन पुन: सञ्चालनमा ल्याउन दुईदेखि तीन दिन लाग्ने अनुमान गरिएको जनाइएको छ ।