बञ्चरेडाँडामा फोहोर विसर्जन रोकिएपछि सरकारले अघि बढायो वार्ता
बञ्चरेडाँडामा फोहोर विसर्जन रोकिएपछि सरकारले अघि बढायो वार्ता
काठमाडौं । काठमाडौं उपत्यकाको बञ्चरेडाँडामा फोहोर विसर्जनमा गएका गाडी स्थानीयले रोकेपछि सरकार समस्या समाधानका लागि वार्तामा लागेको छ ।
सहरी विकास मन्त्रालयले शुक्रबार प्रभावित क्षेत्रका धुनिवेशी नगरपालिका र ककनी गाउँपालिकाका प्रमुख, वडाअध्यक्ष तथा अन्य सरोकारवालासँग छलफल आयोजना गरेको छ ।
मन्त्रालयले प्रभावित क्षेत्रका स्थानीय अगुवाहरूसँग पनि बैठक राख्दै समस्या समाधानको प्रयास गरिरहेको जनाएको छ ।
स्थानीयहरू बुधबारदेखि फोहोर विसर्जन रोक्दै आएका छन् । ककनी–१, २ र धुनिवेशी–१, २, ३ वडाका स्थानीयहरूले फोहर बोकेको गाडीलाई सडकमै रोक्दै फर्काउने गरेका छन् ।
काठमाडौं महानगरपालिकासँग २६ जेठ २०७९ मा स्थानीयहरूसँग १८ बुँदे सहमति भएको थियो । सहमति अनुसार फोहर रातमा मात्रै विसर्जन गरिने, दुर्गन्ध नफैलिने, लिच्छड नदीमा फोहर नजाने जस्ता व्यवस्था मिलाइने कुरा तय गरिएको थियो । तर, सहमति पालना नभएपछि दुर्गन्ध फैलिएको र सरुवाजन्य रोगको जोखिम बढेको स्थानीयहरूले बताएका छन् ।
स्थानीयहरूले पटकपटक समस्या समाधानको पहल गर्न महानगरपालिकालाई आग्रह गरेका भए पनि सहमति कार्यान्वयन नभएको, केही स्थानीयमाथि सार्वजनिक मुद्दा लगाइएको भन्दै उनीहरू थप आक्रोशित छन् ।













