नेपाल सरकारको सम्पत्तिको एकीकृत वार्षिक विवरण अर्थमन्त्री खनाल समक्ष पेश
नेपाल सरकारको सम्पत्तिको एकीकृत वार्षिक विवरण अर्थमन्त्री खनाल समक्ष पेश
काठमाडौं । महालेला नियन्त्रक कार्यालयले नेपाल सरकारकाे सम्पतिकाे एकिकृत वार्षिक विवरण अर्थमन्त्री समक्ष पेश गरेकाे छ ।
महालेखा नियन्त्रक शोभाकान्त पौड्याले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन,२०७६ को दफा २९ बमोजिम आर्थिक वर्ष २०८१/८२ को नेपाल सरकारको केन्द्रीय लेखाको एकीकृत वित्तीय विवरण, ऐ. ऐनको दफा ३३ को उपदफा ११ बमोजिम आन्तरिक लेखापरीक्षणको वार्षिक प्रतिवेदन र आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ७८ को उपनियम ७ बमोजिम नेपाल सरकारको सम्पत्तिको एकीकृत वार्षिक विवरण अर्थ मन्त्री श्री रामेश्वरप्रसाद खनाल समक्ष पेश गरेका हुन् ।
यस्तै पाैड्यालले केन्द्रीय लेखाको एकीकृत वित्तीय विवरण तथा नेपाल सरकारको चल, अचल सम्पत्ति र दायित्वको एकीकृत वार्षिक विवरण महालेखा परीक्षकको कार्यालयमा पेश गरेका छन् ।
नेपालको संविधान, प्रचलित ऐन र अन्य कानूनको अधीनमा रही संघीय सञ्चित कोषको सञ्चालन महालेखा नियन्त्रक कार्यालयले गर्ने र आर्थिक कार्यबिधि तथा वित्तिय उत्तरदायित्व कानूनको आधारमा एकीकृत वित्तिय विवरण र प्रतिवेदन पेश गर्नुपर्ने जिम्मेवारी अनुसार उल्लेखित एकीकृत विवरण तथा प्रतिवेदन कानूनद्वारा निर्धारित समयावधि भित्रै अर्थमन्त्री तथा महालेखापरीक्षकको कार्यालयमा पेश गरिएको जानकारी दिएको छ ।
नेपाल सरकारबाट स्वीकृत नेपाल सार्वजनिक क्षेत्र लेखामान तथा महालेखा परीक्षकबाट स्वीकृत लेखा ढाँचा अनुरुप तयार पारिएको प्रस्तुत विवरण तथा प्रतिवेदनमा नेपाल सरकारको बजेट र एक्स्ट्रा बजेटरी निकायका प्रचलित कानूनले तोकेका विवरणहरु समावेश गरिएका छन ।
प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८१/८२ मा नेपाल सरकारको सञ्चित कोष रु १ खर्ब ९६ अर्ब ३४ करोड ५९ लाखले ऋणात्मक तथा नगद अवस्था रु ३१ अर्ब ३४ करोड ६१ लाखले ऋणात्मक रहेता पनि विभिन्न कोषहरुको मौज्दात एवं एक्स्ट्रा बजेटरी निकायको बांकी मौज्दात रकमको आधारमा नगद तथा बैंक मौज्दात रु ६५ अर्ब ८१ करोड २६ लाखले धनात्मक देखिएको छ ।













