१ कार्तिक २०८३, आइतबार

एमाले सचिवालय बैठक भोलि, के-के छन् मुख्य एजेन्डा ?



काठमाडौं । नेकपा एमालेले आफ्नो सचिवालय बैठक भोलि बिहान ११ बजे बोलाएको छ । अध्यक्ष केपी शर्मा ओलीको गुन्डुस्थित निवासमा बस्ने बैठकले आगामी महाधिवेशन र जनचालन सम्बन्धी तयारीबारे निर्णय गर्नेछ ।

पार्टी प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठकको मुख्य एजेन्डा महाधिवेशनको क्यालेन्डर निर्माण हो । असोज अन्त्यमा बसेको केन्द्रीय कमिटी बैठकले २७–२९ मंसिरमा पोखरामा एघारौँ महाधिवेशन गर्ने निर्णय गरिसकेको छ ।

यस बैठकले प्रतिनिधि चयनको मापदण्ड, अनुपात र संख्या तय गर्नेछ । हाल एमालेका सदस्य संख्या झन्डै ६ लाख ६३ हजार पुगेका छन्। अनुमान अनुसार करिब २२ सय प्रतिनिधि महाधिवेशनमा सहभागी हुनेछन् ।

बैठकमा जनपरिचालन अभियान बारे पनि छलफल हुनेछ । पार्टीले प्रतिनिधिसभा पुन:स्थापनाको मागसँगै जनचेतना अभिवृद्धि अभियान अघि बढाउने तयारी गरेको छ ।