विद्युत नियमन आयोगले कार्यालयका लागि घर भाडामा लिने
विद्युत नियमन आयोगले कार्यालयका लागि घर भाडामा लिने
काठमाडौं । विद्युत नियमन आयोगले कार्यालय प्रयोजनका लागि नयाँ भवन भाडामा लिन प्रक्रिया अघि बढाएको छ ।
आयोगले हाल कार्यरत कार्यालय नजिकै उपयुक्त घर वा भवन भाडामा उपलब्ध गराउन इच्छुक व्यक्ति, फर्म वा कम्पनीलाई सार्वजनिक खरिद नियमावली, २०६४ अनुसार १५ दिने सूचना जारी गरेको छ ।
आयोगले तोकेका मापदण्डअनुसार प्रस्तावित घर हालको कार्यालयदेखि ५०० मिटरभित्र, कम्तीमा २० फिट फराकिलो सडकसँग जोडिएको र २०७२ पछि निर्माण गरिएको भूकम्प प्रतिरोधात्मक आरसीसी पक्की घर हुनुपर्नेछ ।
घरको प्रयोगयोग्य क्षेत्रफल ८०० देखि ११०० वर्गफिटको बीचमा हुनुपर्ने तथा कम्तीमा १० वटा दुईपांग्रे सवारी अट्ने पार्किङको व्यवस्था अनिवार्य गरिएको छ ।
भेन्टिलेशन, उज्यालो, पानी र शौचालयको उचित व्यवस्था रहेको घर मात्र योग्य मानिने आयोगले जनाएको छ । साथै, घरभाडा सार्वजनिक खरिद नियमावली अनुसार दररेट निर्धारण समितिले तोकेको दरमै करकट्टी गरी भुक्तानी गरिनेछ ।
इच्छुक आवेदकले जग्गाधनी प्रमाणपत्र, नापी नक्सा, नागरिकता (वा फर्म/कम्पनीका दर्ता कागजात), करचुक्ता प्रमाणपत्र र नक्सा पासका प्रमाणहरू सहित सिलबन्दी प्रस्ताव आयोगमा पेस गर्नुपर्नेछ । आयोगले प्राप्त प्रस्ताव स्वीकार वा अस्वीकार गर्ने सम्पूर्ण अधिकार आफूसँग सुरक्षित राखेको जनाएको छ।














