१० श्रावण २०८३, आइतबार

वीरगञ्ज नाकाबाट मात्रै ८ अर्ब ७० करोडका सवारीसाधन भित्रिए, राजश्वमा पनि वृद्धि

वीरगञ्ज नाकाबाट मात्रै ८ अर्ब ७० करोडका सवारीसाधन भित्रिए, राजश्वमा पनि वृद्धि



काठमाडाैं । चालु आर्थिक वर्षको तीन महिनामा वीरगञ्ज नाका हुँदै आठ अर्ब ७० करोडका सवारी साधन नेपाल भित्रिएका छन्।

चालु आवको तीन महिनामा सवारीसाधनको आयातबाट सात अर्ब ७७ करोड राजस्व सङ्कलन भएको वीरगञ्ज भन्सार कार्यालयले जनाएकाे छ । यस अवधिमा सवारीसाधनको आयात र सोबाट प्राप्त हुने राजस्व दुवैमा वृद्धि भएको छ ।

गत आवको तीन महिनामा भने रु छ अर्ब १९ करोड मूल्य पर्ने विभिन्न थरिका सवारीसाधन आयात भएका थिए । गत आवको तीन महिनामा सवारीसाधनको आयातबाट पाँच अर्ब ९५ करोड राजस्व सङ्कलन भएको थियो ।

चालु आवको तीन महिनामा तीन अर्ब ४१ करोड मूल्य पर्ने २४ हजार नौ सय ३९ वटा अनएसेम्वल्ड मोटरसाइकल आयात भएको छ । ती अनएसेम्वल्ड मोटरसाइकलको आयातबाट तीन अर्ब २८ करोड राजस्व सङ्कलन भएको छ ।

त्यस्तै गत आवको तीन महिनाको अवधिमा भने दुई अर्ब ४९ करोड मूल्य पर्ने १९ हजार चार सय ८९ अनएसेम्वल्ड मोटरसाइकल आयात भएको थियो । चालु आवको तीन महिनामा ६२ करोड २४ लाख मूल्य पर्ने तीन सय ३० जीप, कार र भ्यानको आयात भएको छ ।

ती सवारीसाधनको आयातबाट रु एक अर्ब ७५ करोड राजस्व सङ्कलन भएको छ । गत आवको तीन महिनाको अवधिमा भने ७६ करोड ५८ लाख मूल्य पर्ने ४३२ जीप, कार र भ्यानको आयात भएको थियो । सो आवमा ती सवारीसाधनको आयातबाट भने एक अर्ब ९६ करोड राजस्व सङ्कलन भएको थियो ।

चालु आवको तीन महिनामा वीरगञ्ज नाका हुँदै ६८ करोड ५ लाख मूल्य पर्ने दुई सय २९ वटा विद्युतीय जीप, कार र भ्यान आयात भएका छन् । ती विद्युतीय जीप, कार र भ्यान आयातबाट ४५ अर्ब ७२ लाख राजस्व सङ्कलन भएको छ ।

गत आवको तीन महिनाको अवधिमा भने वीरगञ्ज नाका हुँदै १४ करोड ४९ लाख मूल्य पर्ने ९७ वटा विद्युतीय जीप, कार र भ्यान आयात भएको थियो । सो अवधिमा विद्युतीय सवारीसाधनआयातबाट नौ करोड ११ लाख मात्रै राजस्व सङ्कलन भएको थियो ।