चिनियाँ ईभी मार्केट: लिपमोटरले तोड्यो बिक्रीको कीर्तिमान, हिमा र एक्सपेंको कडा प्रतिस्पर्धा
काठमाडाैं । चिनियाँ इलेक्ट्रिक सवारी निर्माता लिपमोटरले लगातार २०२५ को छैटौं महिनासम्म बिक्रीको नयाँ कीर्तिमान कायम गर्दै अग्रस्थानमा रहन सफल भएको छ ।
स्टेलान्टिस समूहको लगानीमा रहेको लिपमोटरले अक्टोबर महिनामा ७० हजार २ सय ८९ वटा सवारीसाधन वितरण गरेको छ । यो गत वर्षको सोही अवधिको तुलनामा ८४ प्रतिशत वृद्धि हो ।
सन् २०२५ को जनवरीदेखि अक्टोबरसम्म कम्पनीले ४ लाख ६५ हजार ८०५ सवारी बिक्री गरेको छ, जुन गत वर्षको तुलनामा १२० प्रतिशत वृद्धि हो । यससँगै लिपमोटर लगातार आठ महिनादेखि एनईभी स्टार्टअपहरूमा शीर्ष स्थानमा रहँदै आएको छ ।
कम्पनीले सन् २०२५ भित्र ५ लाख ८० हजारदेखि ६ लाख ५० हजार सवारी वितरण गर्ने लक्ष्य लिएको छ । साथै, आगामी वर्ष अर्थात् २०२६ मा १० लाख सवारी बिक्रीको माइलस्टोन पार गर्ने योजना समेत बनाएको छ ।
हाल लिपमोटरले बजारमा सी १० प्रिमियम एसयुभी, बी १० कम्प्याक्ट एसयुभी र टी ०३ सीटी ह्याचब्याक गरी तीन मोडेलहरू उपलब्ध गराएको छ ।
कम्पनीले आगामी महिनाहरूका लागि पनि नयाँ मोडेलहरू तयारी अवस्थामा राखेको छ । लाफा ५ ह्याचब्याक नोभेम्बर ७ देखि प्रि–सेलमा आउनेछ भने बी १० सेडान यसै महिनाको अन्त्यमा हुने ग्वाङ्झाउ अटो शो मा सार्वजनिक गरिनेछ।
यस्तै लिपमोटरको नयाँ डी–सिरिजको पहिलो मोडेल डी १९ ठूलो एसयुभी अक्टोबरको मध्यमा अनावरण गरिएको थियो र यसको वितरण सन् २०२६ को सुरुवातमा सुरु हुने अपेक्षा गरिएको छ ।
लिपमोटरलाई पछ्याउँदै हिमाले ६८ हजार २ सय १६ सवारी वितरण गर्दै आफ्नो अब तकको उच्चतम मासिक बिक्री गरेको छ । कम्पनीको औसत सवारी मूल्य अमेरिकी डलर ५४ हजार ८०० रहेको र यसको कुल बिक्री एक मिलियन युनिट पार गरिसकेको बताइएको छ । यससँगै, हिमा सबैभन्दा तीव्र गतिमा एक मिलियन बिक्री गर्ने एनइभी स्टार्टअप बन्न सफल भएको छ ।
त्यसैगरी, एक्सपेंगले अक्टोबरमा ४२ हजार १३ सवारी वितरण गरेको छ, जुन गत वर्षको तुलनामा ७६ प्रतिशत वृद्धि हो । एक्सपेंगले लगातार दुई महिनासम्म ४० हजार भन्दा बढी मासिक बिक्री कायम राखेको छ र जनवरीदेखि अक्टोबरसम्म कुल ३ लाख ५५ हजार २०९ सवारी बिक्री गर्दै १९० प्रतिशत वार्षिक वृद्धि हासिल गरेको छ ।
यी नतिजाहरूले चिनियाँ नयाँ उर्जा सवारी बजारमा तीव्र प्रतिस्पर्धा र तीव्र वृद्धिको संकेत गरेका छन्, जसले सन् २०२६ लाई एनइभी उद्योगका लागि अझ निर्णायक वर्ष बनाउने अपेक्षा गरिएको छ ।













