वन अधिकृतमाथि गैरकानूनी सम्पत्तिको मुद्दा, डेढ करोड बिगो माग
वन अधिकृतमाथि गैरकानूनी सम्पत्तिको मुद्दा, डेढ करोड बिगो माग
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भोजपुरस्थित डिभिजन वन कार्यालयका अधिकृत दानबहादुर श्रेष्ठविरुद्ध गैरकानूनी सम्पत्ति आर्जनको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
आयोगले श्रेष्ठविरुद्ध १ करोड ४३ लाख १८ हजार ९३७ रुपैयाँ बिगो दाबी गर्दै आज मुद्दा दायर गरेको हो ।
इलाममा कार्यरत रहँदा पदको दुरुपयोग गरी गैरकानूनी लाभ लिएको उजुरीका आधारमा अख्तियारले उनीमाथि छानबिन अघि बढाएको थियो ।
अनुसन्धानका क्रममा २०४८ साल असार २६ देखि २०८० फागुन १६ सम्म श्रेष्ठ र उनका परिवारले २ करोड १६ लाख रुपैयाँ आम्दानी गरेको र सोही अवधिमा ३ करोड ६० लाख ९५ हजार रुपैयाँ खर्च गरेको पाइएको आयोगले जनाएको छ ।
आम्दानी र खर्चबीचको असंगति देखिएकाले स्रोत नखुलेको १ करोड ४३ लाख रुपैयाँ गैरकानूनी ठहर गर्दै मुद्दा दायर गरिएको हो ।













