१० श्रावण २०८३, आइतबार

निषेधित क्षेत्रमा विदेशी नागरिकलाई पदयात्रा गराएको ट्राभल एजेन्सी विभागको कारबाहीमा

निषेधित क्षेत्रमा विदेशी नागरिकलाई पदयात्रा गराएको ट्राभल एजेन्सी विभागको कारबाहीमा



काठमाडौं । अनुमति अवधि सुरु हुनुअघि नै निषेधित क्षेत्र कञ्चनजंघामा विदेशी नागरिकलाई पदयात्रामा लगेको आरोपमा मल्टी एड्भेञ्चर प्रालिमाथि कारबाही भएको छ ।

अध्यागमन विभागले अध्यागमन ऐन, २०४९ अनुसार पहिलोपटकका लागि उक्त कम्पनीलाई ४० हजार रुपैयाँ जरिवाना तिराएको हो ।

जर्मन नागरिकलाई लिएर कम्पनीले ताप्लेजुङको कञ्चनजंघा क्षेत्रमा यात्रा गराएको थियो । कम्पनीले २५ अक्टोबरदेखि १० दिनका लागि पदयात्रा अनुमति लिएको भए पनि टोली एक दिन अगावै अर्थात् अनुमति अवधि सुरु हुनुभन्दा पहिले नै क्षेत्र प्रवेश गरेको पाइएको विभागले जनाएको छ ।

उक्त यात्रामा गाइडको रूपमा सहभागी दाइला शेर्पामाथि समेत कारबाहीको सिफारिस गर्दै पर्यटन बोर्डमा पत्राचार गरिएको छ ।

नेपाल सरकारले सुरक्षा र सीमा संवेदनशीलताको कारण माथिल्लो मुस्ताङ, डोल्पा, हुम्ला, मनासलु, कञ्चनजंघा लगायत १५ जिल्लाका केही स्थानलाई निषेधित क्षेत्र घोषणा गरेको छ । ती स्थानमा अनुमति बिना विदेशी नागरिकलाई पदयात्रा गर्न पाइँदैन ।