१० श्रावण २०८३, आइतबार

कृषि सडकमा अनियमितता, आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा



काठमाडौं । सप्तरीको महादेवा गाउँपालिका–२ मा कृषि सडक निर्माणमा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आठ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगका अनुसार दोमुहान डगरदेखि खाडो नदी हुँदै भिमबाँधसम्मको सडक निर्माणका क्रममा वास्तविक कामभन्दा बढी परिमाण देखाई करिब ६ लाख ९० हजार रुपैयाँभन्दा बढी रकम गैरकानूनी रूपमा भुक्तानी गरिएको पाइएको हो।

मुद्दामा धनुषास्थित कृषि विकास निर्देशनालयका कार्यालय प्रमुख रत्नकुमार झा, योजना प्रमुख विकासकुमार साह, लेखा अधिकृत चक्रप्रसाद अधिकारी, महादेवा–२ का वडा अध्यक्ष जगदिश मण्डल र उपभोक्ता समितिका पदाधिकारीहरूसहित आठ जनालाई प्रतिवादी बनाइएको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए।

आयोगले परामर्शदाता संस्था किरु इन्जिनियरिङ कन्सल्टेन्ट प्रालि र त्यसका प्रोप्राइटरमाथि समेत गलत प्रतिवेदन र नापी किताब तयार गरी भुक्तानी सदर गराएको आरोप लगाएको छ।

आरोपीहरूबाट बिगो असुल गरी कैद र जरिवाना सजायको माग गर्दै आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको जनाएको छ।