पटक–पटकको आश्वासन कार्यान्वयन भएन, उखु किसानको बक्यौता अनुदान अझै बाँकी
काठमाडौं । उखु किसानले गत वर्षको बक्यौता अनुदान अहिलेसम्म नपाएको गुनासो गरेका छन् ।
केन्द्रीय उखु संघर्ष समितिका संयोजक श्यामबाबु रायले सरकारले बाँकी ७५ करोड रुपैयाँ अनुदान तत्काल उपलब्ध गराउन माग गरेका छन् ।
गत भदौमा सरकारले प्रतिक्विन्टल ३५ रुपैयाँ दरले मात्र आधा रकम निकासा गरेको थियो । किसानले प्रतिक्विन्टल ७० रुपैयाँको दरले पूर्ण रकम पाउनुपर्ने माग गरिरहेका छन्। रायका अनुसार हालसम्म आधा मात्र रकम वितरण भएको र पटक–पटक आश्वासन दिए पनि कार्यान्वयन भएको छैन् ।
दशैंअघि नयाँ सरकारसँग भेटेर बाँकी रकम उपलब्ध गराउने प्रतिबद्धता लिएको भएपनि छठ सकिएको लामो समय बितिसक्दा किसानले पैसा नपाएका संघर्ष समितिले जनाएको छ ।
किसानको मनोबल खस्किएको र लागत बढेसँगै धेरैले उखु रोप्न हिचकिचाइरहेका छन् । कृषि मन्त्रालयले अनुदान वितरण सम्बन्धी अन्तिम निर्णय मन्त्रिपरिषद्ले गर्ने बताएको छ ।
आगामी बिहीबार सर्लाही हरिवनमा केन्द्रीय उखु संघर्ष समितिको बैठक बस्ने र बाँकी भुक्तानी नभए अन्य कदम चाल्ने कार्यक्रम तय हुने बताइएको छ ।













