मौसम पूर्वानुमान : पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
काठमाडौं । मुलुकका पश्चिमी भू–भागमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव देखिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज दिउँसो बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी क्षेत्रमा साधारणतया बदली रहनेछ भने बाँकी भागमा आंशिक बदली रहनेछ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ ।
आज राति देशका अधिकांश पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहने र बाँकी भागमा मौसम सफा रहने अनुमान गरिएको छ । रातिको समयमा पनि बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रका केही स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनाएको छ ।













