पौने तीन खर्बमा बन्दैछ ६७० मेगावाट क्षमताको दूधकोशी जलविद्युत् आयोजना, निर्माण प्रक्रिया सुरु
काठमाडौं । खोटाङ र ओखलढुंगाको सिमानामा निर्माण हुँदै गरेको दूधकोशी जलविद्युत् आयोजना (६७० मेगावाट) निर्माण तयारीको अन्तिम चरणमा पुगेको छ ।
विद्युत् विकास विभागले हालै ३५ दिने सार्वजनिक सूचना जारी गर्दै परियोजनालाई विद्युत् उत्पादन अनुमति दिने प्रक्रिया सुरु गरेको छ ।
परियोजना सकिएपछि नेपालको कुल विद्युत् क्षमता १५–२० प्रतिशत वृद्धि हुने अपेक्षा गरिएको छ । लामीडाँडामा २२० मिटर अग्लो बाँध निर्माण हुँदैछ । यसले १९.७ वर्ग किलोमिटर क्षेत्रफलमा कृत्रिम जलाशय बनाउनेछ । यसले करिब १८६ परिवारलाई विस्थापित बनाउनेछ ।
दूधकोशी जलविद्युत कम्पनीका प्रमुख वसन्तध्वज श्रेष्ठका अनुसार यो आयोजना दिगो, पारदर्शी र स्थानीयमैत्री ढंगले अघि बढ्नेछ र नेपाललाई ऊर्जा आत्मनिर्भरताको नयाँ उचाइमा पुर्याउनेछ ।
परियोजनाको कुल लागत २ खर्ब ८६ अर्ब रुपैयाँ अनुमान गरिएको छ । एसियाली विकास बैंक र अन्य विकास साझेदारसँग वित्तीय तयारी भइरहेको छ । विद्युत् उत्पादन अनुमति प्राप्त भएपछि तत्काल जग्गा अधिग्रहण, मुआब्जा वितरण र निर्माण कार्य सुरु गरिनेछ ।













