अमेरिकाको केन्टकीमा कार्गो विमान दुर्घटना, ७ जनाको मृत्यु, ११ घाइते
काठमाडौं । अमेरिकाको केन्टकी राज्यस्थित लुइविलमा बुधबार एक कार्गो विमान दुर्घटना भएको छ । दुर्घटनामा ७ जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् ।
यूपीएस कम्पनीको फ्लाइट २९७६ ले मोहम्मद अली इन्टरनेशनल एयरपोर्टको होनोलुलु (हवाई) को ड्यानियर इनोय इन्टरनेशनल एयरपोर्टका लागि उडान भरेको थियो ।
यो दुर्घटना स्थानीय समयअनुसार साँझ करिब सवा ५ बजे भएको फेडरल एभिएशन अथोरिटीले जनाएकाे छ । दुर्घटनापछि एयरपोर्टको दक्षिणी क्षेत्रमा धुँवा र आगो देखिएको थियो । सामाजिक सञ्जालमा साझा गरिएका भिडियोहरुमा तीव्र आगो र जहाजका टुक्राहरु जलिरहेको देखिन्छ ।
प्रहरीले एयरपोर्टको ८ किलोमिटर क्षेत्रमा बस्ने मानिसहरुलाई घरभित्रै रहन निर्देशन दिएको छ । अहिले एयरपोर्ट बन्द गरिएको छ । जहाजले उडान भरेको केही मिनेटमै दुर्घटना भएको एजेन्सीहरुले बताएका छन् ।
यूपीएस कम्पनीले बिमानमा चालक दलका तीन सदस्य रहेको बताएको छ ।













