१० श्रावण २०८३, आइतबार

ड्राइभिङ लाइसेन्स सेवा क्रमश: सुचारु



काठमाडौं । गत भदौ २३–२४ को जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोडले प्रभावित यातायात कार्यालयमा सर्भर र इलेक्ट्रोनिक उपकरण क्षतिग्रस्त भएपछि बन्द भएको सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) सेवा आइतबारदेखि आंशिक रूपमा पुन: सुरु भएको छ ।

यातायात व्यवस्था विभागका अनुसार २२ कार्यालयमा लाइसेन्स सम्बन्धी सेवा सञ्चालनमा आएको छ । विभागले हाल देशभर ४२ कार्यालयबाट सेवा दिइँदै आएको छ । क्रमश: अन्य कार्यालयहरूमा पनि सेवा पुन: सञ्चालन हुने योजना छ ।

तर, चितवन, पोखरा, इटहरी, लहान, बुटवल, दाङ र धनगढी जस्ता ७ कार्यालयमा आगजनीबाट क्षति भएकाले सेवा तुरुन्त सञ्चालन गर्न कठिनाइ रहेको विभागले जनाएको छ ।

सेवाग्राहीहरूले उपलब्ध कार्यालयहरूबाट लाइसेन्स नवीकरण र केही अन्य काम गर्न सक्नेछन् भने नयाँ आवेदन केही दिनभित्रै खुल्ने बताइएको छ । विभागका अनुसार हाल दैनिक औसत ६–७ हजार आवेदन आउने गरेका छन् ।