रिलायन्स स्पिनिङ मिल्सको रिटमा आज सुनुवाइ हुन सकेन, कहिलेलाई तोकियो पेसी ?
काठमाडौं । रिलायन्स स्पिनिङ मिल्सले नेपाल विद्युत प्राधिकरणविरुद्ध दायर गरेको रिटको आज उच्च अदालत पाटनमा सुनुवाइ हुन सकेन ।
न्यायाधीश ऋषि राजभण्डारी र नारायणप्रसाद सुवेदीको इजलासमा पेसी चढेको भए पनि विपक्षी प्राधिकरणका कार्यालयहरूले म्याद बुझाएको प्रमाण नदेखिँदा सुनुवाइ रोकिएको हो ।
इजलासले रिटको छलफलका लागि कात्तिक २७ गते नयाँ पेसी तोकेको छ । अक्षय गोल्यानले प्राधिकरणविरुद्ध दायर मुद्दा पनि सोही पेसीमा लगाउन आदेश दिएको छ ।
रिलायन्सले प्राधिकरणले लाइन काटेर बक्यौता उठाउन खोजेको भन्दै यथास्थितिमा राख्न र प्रशासनिक पुनरावलोकनको माग गर्दै रिट दायर गरेको हो ।
प्राधिकरणका अनुसार रिलायन्सले डेडिकेटेड फिडरको नियमित बिल तिरे पनि ६० करोड रुपैयाँ प्रिमियम बक्यौता तिर्न बाँकी छ । यस कारण लक्ष्मीपूजाको भोलिपल्ट कात्तिक ४ गते उद्योगको बिजुली काटिएको थियो ।













