बिहारमा विधानसभा निर्वाचनको पहिलो चरणको मतदान सुरू
काठमाडाैं । भारतको बिहार राज्यमा आज विधानसभा निर्वाचनको पहिलो चरणको मतदान भइरहेको छ। पहिलो चरणमा १८ जिल्लाका १२१ निर्वाचन क्षेत्रमा मतदाताहरूले आफ्ना प्रतिनिधि चयन गर्न मतदान गर्दै छन्। यस चरणमा राजधानी पटना समेत समावेश छ।
बीबीसी हिन्दीका अनुसार केही समय अघि नै मतदान प्रक्रिया सुरु भइसकेको छ।
यस चरणमा बिहारका उपमुख्यमन्त्री सम्राट चौधरी, उपमुख्यमन्त्री विजय सिन्हा र राष्ट्रिय जनता दल ९आरजेडी० का नेता तेजस्वी यादवलगायतका चर्चित नेताहरू मैदानमा छन्।
शान्तिपूर्ण र निष्पक्ष मतदान सुनिश्चित गर्न भारतको निर्वाचन आयोगले कडा सुरक्षा व्यवस्था गरेको छ। संवेदनशील मतदान केन्द्रहरूमा विशेष निगरानी बढाइएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
बाँकी २० जिल्लाका १२२ निर्वाचन क्षेत्रमा दोस्रो चरणको मतदान नोभेम्बर ११ मा हुनेछ। निर्वाचन आयोगले नोभेम्बर १४ मा नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ।
बिहार विधानसभा निर्वाचनका लागि कुल ७ करोड ४३ लाख ५५ हजार ९७६ मतदाता दर्ता भएका छन्। तीमध्ये करिब ३ करोड ९२ लाख ७० हजार ८०४ पुरुष र ३ करोड ४९ लाख ८२ हजार ८२८ महिला मतदाता रहेका छन्।













