कुमारी बैंकको नाफा १ अर्ब माथि, झन्डै ३ अर्ब उठायो ब्याज, इपिएस कति ?
काठमाडौं । कुमारी बैंकको नाफामा सामान्य गिरावट आएको छ । बैंकले तीन महिनामा अर्ब बढी खुद नाफा कमाएको देखिएको छ ।
शुक्रबार बैंकले प्रकाशन गरेको चालु आर्थिक वर्ष २०८२–८३ को पहिलो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।
समिक्षा अवधिमा बैंकको खुद नाफा २.०१ प्रतिशत घटेर १ अर्ब ५ करोड ६५ लाख ३१ रुपैयाँ कायम भएको छ । जबकि, गत आवको असोज मसान्तसम्म बैंकले १ अर्ब ७ करोड ८१ लाख ७७ रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
यता, बैंकको संचालन नाफामा पनि ८.११ प्रतिशत गिरावट आएको छ । समिक्षा अवधिमा बैंकको यस्तो नाफा १ अर्ब ४२ करोड ४० लाख रुपैयाँ कायम भएको छ ।
तर, बैंकको खुद ब्याज आम्दानी भने ३.७७ प्रतिशत वृद्धि भई २ अर्ब ९१ करोड २० लाख रुपैयाँ कायम भएको छ ।
बैंकको इम्पेरमेन्ट चार्ज बढेर ४ अर्ब २१ करोड ५३ लाख रुपैयाँ कायम भएको छ ।
बैंकको संचालन नाफामा गिरावट र इम्पेरमेन्ट चार्ज बढेपछि नै खुद नाफामा प्रभावित भएको हो । समिक्षा अवधिमा बैंकको वितरणयोग्य नाफा ३ अर्ब ९१ करोड ९९ लाख रुपैयाँ ऋणात्मक छ ।
बैंकको खराब कर्जा पनि बढेर ६.९८ प्रतिशत पुगेको छ । जबकि, गत आवको पहिलो त्रैमासमा ४.९६ प्रतिशत थियो ।
हाल बैंकको चुक्ता पुँजी २६ अर्ब २२ करोड ५८ लाख रुपैयाँ छ । बैंकले जगेडा तथा कोषमा भने ११ अर्ब ८५ करोड ७० लाख रुपैयाँ राखेको छ ।
समिक्षा अवधिमा बैंकको निक्षेप १.१६ प्रतिशत घटेर ३ खर्ब ६० अर्ब ४० करोड ६६ लाख रुपैयाँ कायम भएको छ । यता, कर्जा प्रवाह भने ३.२५ प्रतिशत बढेर २ खर्ब ६९ अर्ब ४१ करोड ८४ लाख रुपैयाँ कायम भएको छ ।
हाल बैंकको प्रतिसेयर आम्दानी १६.११ रुपैयाँ छ । जबकि, गत आवको पहिलो त्रैमासमा यस्तो आम्दानी १६.४४ रुपैयाँ थियो । यता, प्रतिसेयर नेटवर्थ १४५.२१ रुपैयाँ कायम भएको छ ।













