खुद ब्याज आम्दानी बढे पनि खुम्चियाे कृषि विकास बैंककाे नाफा, कस्ता छन् अन्य सूचक ?
काठमाडौं । सरकारी स्वामित्वको कृषि विकास बैंककाे नाफा ९६.९९ प्रतिशतले घटेकाे छ ।
चालु आर्थिक वर्षको पहिलाे त्रैमासमा ५७ लाख ३८ हजार रुपैयाँ खुद नाफा कमाएको बैंकले सार्वजनिक गरेकाे वित्तीय विवरणले देखाएको छ।
गत आर्थिक वर्षको तीन महीनामाअसाेज मसान्तसम्म बैंकले १९ करोड ९ लाख २३ हजार रूपैयाँ खुद नाफा कमाएकाे थियाे ।
नाफासँगै बैंकको प्रतिशेयर आम्दानी ३.१६ रुपैयाँबाट घटेर ०.१७ रुपैयाँ कायम भएको छ भने प्रतिशेयर नेटवर्थ २३९.५२ रुपैयाँ रहेको छ।
यद्यपि बैंकको कुल सञ्चालन नाफा भने २ अर्ब ४७ करोड ९५ लाख रुपैयाँबाट बढेर २ अर्ब ६२ करोड ३२ लाख रुपैयाँ पुगेका छ भने बैंकको खुद ब्याज आम्दानी भने १ अर्ब ५४ करोड ४० लाख रुपैयाँबाट बढेर २ अर्ब ४२ करोड ४३ लाख रुपैयाँ कायम भएको छ।
यस अवधीमा बैंककाे खराब कर्जा पनि घट्न सकेकाे छैन । बैंककाे खराब कर्जा ४.७८ प्रतिशतमै स्थिर रहेको छ ।
चुक्ता पूँजी १९ अर्ब २८ करोड ७९ लाख रुपैयाँ रहेको बैंकको जगेडा कोषमा २ अर्ब ४८ करोड ४७ लाख रुपैयाँ रहेकाे छ भने रिजर्भ कोषमा १६ अर्ब ८४ करोड ६६ लाख रुपैयाँ सञ्चिति रहेको छ।
समिक्षा अवधिमा बैंकले २ खर्ब १२ अर्ब ६१ करोड रुपैयाँ कर्जा प्रवाह गरी ३ खर्ब ९ अर्ब ३७ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ।













