बैंकका ऋणीले बुझाए तीन महिनामा ५० अर्ब बढी ब्याज, कुन बैंकले कति उठाए ?
काठमाडौं । बैंकहरुले तीन महिनामै ५० अर्ब बढी ब्याज उठाएका छन् । हाल संचालनमा रहेका २० वटा वाणिज्य बैंकहरुले प्रकाशन गरेको चालु आर्थिक वर्ष २०८२–८३ को पहिलो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।
गत साउनदेखि असोज मसान्तसम्म आइपुग्दा ती बैंकका ऋणाीले ५० अर्ब ७ करोड ८५ लाख रुपैयाँ ब्याज बुझाएका छन् । बैंकहरुको खुद ब्याज आम्दानी गत आवको पहिलो त्रैमासको तुलनामा ५.२५ प्रतिशत बढी हो । गत आवको सोही अवधिमा बैंकहरुले ४७ अर्ब ५७ करोड ७६ लाख रुपैयाँ ब्याज आम्दानी गरेका थिए ।
समिक्षा अवधिमा ६ वटा बैंकको ब्याज आम्दानी घटेको छ । तर, १४ वटा बैंकको भने वृद्धि भएको छ ।
सबैभन्दा धेरै ग्लोबल आइएमई बैंकको छ । बैंकले तीन महिनामा ४ अर्ब १३ करोड ३० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जबकि, गत वर्षको सोही अवधिमा पनि बैंकको यस्तो आम्दानी ४ अर्ब ११ करोड ८९ लाख रुपैयाँ छ ।
यस्तै, नबिल बैंकले पनि तीन महिनामा ३ अर्ब ९० करोड १२ लाख, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ३ अर्ब २४ करोड ३१ लाख, राष्ट्रिय वाणिज्य बैंकले २ अर्ब ९२ करोड ५ लाख, कुमारीले २ अर्ब ९१ करोड २० लाख, प्रभूले २ अर्ब ८९ करोड ५२ लाख, लक्ष्मी सनराइजले २ अर्ब ७१ करोड ५१ लाख, नेपाल बैंकले २ अर्ब ५६ करोड ९५ लाख र हिमालयन बैंकले २ अर्ब ५० करोड ७१ लाख रुपैयाँ ब्याज आम्दानी गरेका छन् ।
यता, एनएमबि बैंकले २ अर्ब ४८ करोड ७२ लाख, कृषि विकासले २ अर्ब ४२ करोड ४३ लाख, प्राइमले २ अर्ब ४० करोड ७४ लाख, एभरेष्टले २ अर्ब ४० करोड ३८ लाख, एनआइसी एशियाले २ अर्ब २८ करोड ६० लाख, सिद्धार्थ २ अर्ब १६ करोड २५ लाख, स्ट्याण्डर्ड चार्टर्डले १ अर्ब ९७ करोड ७४ लाख, सानिमाले १ अर्ब ६८ करोड ८५ लाख, सिटिजन्सले १ अर्ब ६६ करोड ६२ लाख, माछापुच्छ्रेले १ अर्ब ४५ करोड ८९ लाख र नेपाल एसबिआईले १ अर्ब ३१ करोड ८६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेका छन् ।
कुन बैंकको खुद ब्याज आम्दानी कति ? (रकम हजारमा)














