दबाबमा बैंकिङ क्षेत्र : जेनजी आन्दोलनले ऋण असुली ठप्प, साढे ७ प्रतिशतसम्म पुग्यो खराब कर्जा - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

दबाबमा बैंकिङ क्षेत्र : जेनजी आन्दोलनले ऋण असुली ठप्प, साढे ७ प्रतिशतसम्म पुग्यो खराब कर्जा



काठमाडौं । अधिकांश बैंकहरुको खराब कर्जा वृद्धि भएको छ । वाणिज्य बैंकहरुको कर्जा अनुपात साढे ७ प्रतिशतसम्म पुगेको छ ।

बैंकहरुले शुक्रबार प्रकाशन गरेको चालु आर्थिक वर्ष २०८२–८३ को पहिलो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

हाल बैंकहरुको औसत खराब कर्जा दर ४.८६ प्रतिशत छ । जबकि, गत वर्षको सोही अवधिमा ४.०४ प्रतिशत रहेको थियो ।
समिक्षा अवधिमा ६ वटा बाहेकका बैंकहरुको खराब कर्जा वृद्धि भएको छ । १४ वटा बैंकको यस्तो कर्जा बढेको हो ।

राष्ट्रिय वाणिज्य बैंक, स्ट्यान्र्ड चार्टर्ड, सिद्धार्थ, एभरेष्ट, लक्ष्मी सनराइजले खराब कर्जा घटाएका छन् । तर, यी बाहेकको भने वृद्धि भएको छ । कृषि विकास बैंकको भने स्थितर ४.७८ प्रतिशत देखिएको छ ।

समयमा असुल हुन नसकेका वा असुलीमा समस्या देखिएका कर्जालाई खराब कर्जा भनिन्छ । यस्तो कर्जा अनुपात जति कम हुन्छ, बैंकको वित्तीय स्वास्थ्य त्यति राम्रो मानिन्छ । तर हाल वाणिज्य बैंकहरूमा यो दर तीव्र रूपमा बढ्दै गएको देखिन्छ ।

अर्थतन्त्रमा आएको सुस्तता र हालैको जेनजी आन्दोलनका क्रममा निजी व्यवसायमा व्यापक तोडफोड र आगजनी भएको छ । त्यसको असरमा धेरै ऋणी ऋण तिर्न नसक्ने अवस्थामा पुगेका छन् । यसले आगामी दिन थप खराब कर्जा बढाउने जोखिम पनि छ । यसका लागि नियामक निकाय नेपाल राष्ट्र बैंकले तत्काल सहुलियत दिनुपर्ने जानकारहरु बताउँछन् । निष्क्रिय कर्जाको जोखिम कभर गर्न प्रोभिजन बढाउँदा बैंकहरूको नाफा र लाभांश क्षमतामा समेत प्रत्यक्ष असर परेको छ ।

पहिलो त्रैमासमा सबैभन्दा धेरै खराब कर्जा हिमालयन बैंकसँग देखिन्छ । बैंकको यस्तो कर्जा २.४१ बिन्दुले बढेर ७.३९ प्रतिशत कायम भएको छ । यता, एनआइसी एशियाको पनि २.७५ बिन्दुले वृद्धि भई ६.९९ प्रतिशत पुगेको छ ।

विवरण अनुसार कुमारी बैंकको खराब कर्जा ६.९८ प्रतिशत, सिटिजन्सको ६.८४ प्रतिशत नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ६.६३ प्रतिशत, प्राइमको ५.८६ प्रतिशत, प्रभूको ५.७८ प्रतिशत, नेपाल बैंकको ५.४९ प्रतिशत, लक्ष्मी सनराइजको ५.४२ प्रतिशत छ । हाल यी ९ वटा बैंकको खराब कर्जा ५ प्रतिशतभन्दा बढी छ ।

हाल खराब कर्जा नियन्त्रणमा एभरेष्टले आफूलाई अब्बल तुल्याएको छ । हाल बैंकसँग १ प्रतिशत भन्दा कम खराब कर्जा छ । वित्तीय विवरणमा उल्लेख भएअनुसार एभरेष्टको यस्तो कर्जा ०.७४ प्रतिशत मात्रै छ । जबकि, गत वर्षको सोही अवधिमा पनि बैंकसँग ०.७७ प्रतिशत खराब कर्जा थियो । यता, स्ट्याण्डर्ड चार्डर्ड बैंकको खराब कर्जा पनि १.७१ प्रतिशत मात्रै छ । यी बाहेकका बैंकको खराब कर्जा ३ प्रतिशतभन्दा माथि छ ।

विवरण अनुसार सिद्धार्थ बैंकको खराब कर्जा ३.८ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकको ३.८३ प्रतिशत, सानिमाको ३.९१ प्रतिशत, माछापुच्छ्रेको ४.१३ प्रतिशत, नबिलको ४.३१ प्रतिशत, एनएमबिको ४.५८ प्रतिशत, ग्लोबल आइएमईको ४.९८ प्रतिशत छ ।

कुन बैंकको खराब कर्जा कति ?


प्रतिक्रिया दिनुहोस्