सिप्रदी ट्रेडिङले एकै वर्ष बेच्यो २४ अर्बको गाडी, २९.५८ प्रतिशत बढ्यो व्यापार
काठमाडौं । नेपाली अटो बजारमा सर्वाधिक हिस्सा ओगट्दै आएको सिप्रदी ट्रेडिङ प्रालिले २४ अर्ब बढीको व्यापार गरेको छ । कम्पनीको व्यापार एकैवर्ष साढे २९ प्रतिशत वृद्धि भएको देखिन्छ ।
टाटा ब्रान्डको सवारी साधान बिक्री वितरण गर्दै आएको सिप्रदीले सन् २०२५ मा २४ अर्ब ८ करोड ८० लाख रुपैयाँ बराबरको व्यापार गरेको छ । यो गत वर्ष सन् २०२४ को तुलनामा २९.५८ प्रतिशत बढी हो । गत वर्ष पनि कम्पनीले १८ अर्ब ५८ करोड ८० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो ।
कोभिड महामहारी, आर्थिक शिथिलता लगायतका कारण केही समय ओरालो लागेको सिप्रदीको व्यापार पुन: लय फर्किँदै छ । कम्पनीले पछिल्लो ५ वर्षमा १ खर्ब १५ अर्ब ३५ करोड ४० लाख रुपैयाँ बढीको व्यापार गरेको देखिन्छ । सन् २०२१ देखि २०२५ सम्म आइपुग्दा सो बराबरको कारोबार गरेको छ ।
कम्पनीले अघिल्लो वर्ष २०२३ मा पनि १८ अर्ब ३० करोड ४० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो । यस्तै, सन् २०२२ मा २८ अर्ब ९५ करोड ५० लाख र सन् २०११ मा २५ अर्ब ४१ करोड ९० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो ।
सन् १९८२ देखि टाटा कमर्शियल सवारीसाधन र सन् १९९२ देखि टाटा पासेन्जर सवारीसाधनको एकमात्र अधिकृत वितरकका रूपमा सिप्रदीले लामो अनुभव हासिल गरेको छ । कम्पनीले एक्साइड ब्याट्री (सन् २०००) र म्याक लुब्रिकेन्ट्स (सन् २००२) वितरण गर्दै आएको छ । टाटा मोटर्स ब्रान्डको बलियो बजार पहिचानले सिप्रदीलाई विशेषगरी कमर्शियल सवारीसाधन बजारमा अग्रणी बनाएको छ ।
सिप्रदी समूहका अध्यक्ष सिद्धार्थ एसजेबी राणा रहेका छन् । उनी प्रमुख प्रवद्र्धक समेत हुन् । उनका साथै विभिन्न व्यक्ति तथा संस्थाहरू पनि प्रवद्र्धकका रूपमा संलग्न छन् । सिप्रदीले चार आफ्नै सोरूम, १४ डिलर र देशभरका बिक्री केन्द्रमार्फत बिक्री नेटवर्क सञ्चालन गर्छ । कम्पनीले सवारीसाधन बाहेक ब्याट्री, लुब्रिकेन्ट्स पनि बिक्री वितरण गर्दै आएको छ । यसका साथै विभिन्न कार्यशाला सेवाबाट पनि आम्दानी हुने कम्पनीले जनाएको छ ।
नेपालमा कमर्शियल भेइकल क्षेत्रमा सिप्रदी ६० प्रतिशत भन्दा बढी बजार हिस्सा ओगटेको छ । देशभरको सुदृढ बिक्री सञ्जाललाई पनि रेटिङ सुधारमा सहायक कारकका रूपमा लिइएको छ ।
तर, इक्रा नेपालले केही चुनौतीहरू पनि औंल्याएको छ । कम्पनीको व्यवसायिक सवारी क्षेत्रमा उच्च निर्भरता र अर्थतन्त्रको चक्रिय प्रभावले आम्दानी र नाफामा दबाब पर्न सक्ने उल्लेख गरेको छ । साथै, इलेक्ट्रिक सवारीसाधन (इभी) बजारमा बढ्दो प्रतिस्पर्धा र नियामकीय अनिश्चितता पनि जोखिम कारकका रूपमा रहेका छन् ।
गत तीन वर्षमा कम्पनीले औसत ६८ प्रतिशत नाफा लाभांश वितरण गरेको उल्लेख छ । सहायक कम्पनीहरूलाई दिइएका ठूला कर्पोरेट ग्यारेन्टीहरूले भविष्यमा तरलता र वित्तीय दायित्वमा दबाब पर्न सक्ने सम्भावना पनि इक्रा उल्लेख गरेको छ । कम्पनीले १३ अर्ब ७५ करोड रुपैयाँ कर्जाका लागि रेटिङ्ग गराएको छ । कम्पनीले दीर्घकालिन कर्जाका लागि सो रेटिङ गराएको हो ।













