डेढ महिनामा थपियो डेढ खर्ब निक्षेप, बैंकमा पैसा थुप्रिएका कारण ऋणीलाई जोगाउन कसरी सहयोग पुगिरहेको छ ? - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

डेढ महिनामा थपियो डेढ खर्ब निक्षेप, बैंकमा पैसा थुप्रिएका कारण ऋणीलाई जोगाउन कसरी सहयोग पुगिरहेको छ ?



काठमाडौँ । जेनजी आन्दोलनपछि ऋणीहरुले बैंकको किस्ता तथा ब्याज भुक्तानी नगरेका अहिले सबैजसो बैंकको निष्कृय कर्जामा भारी बढोत्तरी भएको छ । त्योभन्दा मुख्य कुरा चाहीँ ब्याज नउठ्ने (इन्ट्रेस्ट सस्पेन्सन) प्रवृत्तिले बैंकहरुलाई अप्ठेरो विन्दुतर्फ धकेलेको छ ।

तर यस्तो बेला पनि निक्षेपमा भने बढोत्तरी भइरहेको भनेर बैंकरले खुसी मनाएका छन् । कतिपय बैंकलेले अधिक तरलताको अवस्था बढ्दै जाँदा दुई वर्ष अघिदेखि नै निक्षेप स्वीकार गर्नै हिचकिचाउने स्थिति तयार भएको थियो । तर यही अधिक निक्षेपले अहिले ऋणीहरुलाई तैविसेक जोगाइराख्न मद्दत पुगेको बैंकर बताउँछन् ।

प्राइम कमर्शियल बैंकका प्रमुख कार्यकारी अधिकृत सञ्जीव मानन्धर भन्छन्, ‘निरन्तर निक्षेप बढ्ने र ब्याजदर घट्ने अवस्थाले ऋणीलाई बचाउन सकिएको छ । यसरी निक्षेप नबढेको भए ब्याज बढेर ऋणीहरु बच्नै नसक्ने परिस्थितिमा पुग्थे ।’

लामो समयदेखि समष्टिगत मागमा कमि आएको र यही कारण व्यवसायीको नाफा घट्दै गएका बेला ऋण तिर्न समस्या परेको बैंकर बताउँछन् । अझ, दुई महिना अघिको जेनजी आन्दोलन यता त तिर्न सक्ने मान्छेहरु पनि ऋणको सावाँ ब्याज भुक्तानी नगरेरै बसेका छन् ।

यस्तो अवस्थामा निक्षेप लगातार बढ्दै गएका कारण ब्याजदर तल्लो विन्दुमा झरेको छ । यसले ऋणीहरुलाई दोस्रो त्रैमासदेखि बैंकको किस्ता र ब्याज बुझाउन सहजिलो पर्ने बैंकरको बुझाइ छ । अहिले राष्ट्र बैंकले पनि आन्दोलनमा पीडित भएका उद्यमहरुलाई राहत दिएको र ब्याजदर तल्लो स्तरमा झरेका कारण विस्तारै अर्थतन्त्र र बैंकिङ कारोबार पनि सुधारिँदै जाने विस्वास मानन्धरले गरेका छन् ।

राष्ट्र बैंकको तथ्यांक अनुसार गत भदौ मसान्तमा बैंक तथा वित्तीय संस्थासँग ७३ खर्ब ३१ अर्ब रुपैयाँ निक्षेप थियो । गत मंगलबारसम्म आउँदा यो निक्षेप ७४ अर्ब ७९ करोड रुपैयाँ पुगेको छ । यसरी विगत डेढ महिनामा २ प्रतिशत निक्षेप बढ्नुलाई बैंकरहरुले ‘सकारात्मक’ रूपमा लिएका छन् ।

बढ्दो रेमिट्यान्स र घट्दो उपभोगका कारण सेयर बजारजस्ता सट्टेबाजी बजारहरु उकालो लाग्न नसक्दा समेत निक्षेपमा उल्लेख्य बढोत्तरी भएको छ । डेढ महिनामा १ खर्ब ४८ अर्ब निक्षेप बढ्नुको अर्थ मासिक १ खर्बका दरले निक्षेप थुप्रिनु हो ।

यसरी निक्षेप बढ्नुका पछाडी कतिपयले नगद सञ्चित गरेको पैसा समेत बैंकिङ प्रणालीमा फर्किएको हुनसक्ने अड्ल पनि बैंकरले गरेका छन् । जेनजी आन्दोलनका क्रममा पुष्पकमल दाहाल, केपी ओली, दीपक खड्का, शेरबहादुर देउवा लगायतको घरमा भएको नगद पैसा जलेको घटनाबाट मान्छेहरु तर्सिएको हुनसक्ने अड्कल राष्ट्र बैंकका अधिकारीहरुले पनि गरेका छन् ।

हालैका दिनमा समेत अरु नयाँ खाले आन्दोलन र अराजकता बढ्ने खतरा नटरेको देखिएपछि मान्छेहरुले आफूसँग भएको नगद लगेर बैंकमा जम्मा गर्ने प्रवृत्ति बढेको हुनसक्ने उनीहरले बताए । उता, राष्ट्र बैंकले पनि खुल्ला बजार कारोबारमार्फत् लामो समयसम्म ठूलो परिमाणमा तरलता प्रशोचन गरिरहन नसक्ने बताएका कारण बैंकहरुले कर्जाको ब्याजदरलाई समेत तल्लो विन्दुमा झारेको पनि केही बैंकरले बताएका छन् ।


प्रतिक्रिया दिनुहोस्