लोअर हेवाखोला जलविद्युत आयोजनामा दुई वाणिज्य बैंकले सवा ९८ करोड रुपैयाँ ऋण लगानी गर्ने
काठमाडौं। ६.८४८ मेगावाट क्षमताको लोअर हेवाखोला जलविद्युत आयोजना निर्माणका लागि दुई बैंकले संयुक्त रूपमा ९८ करोड १७ लाख रुपैयाँ ऋण लगानी गर्ने भएका छन्।
सिद्धार्थ बैंक लिमिटेडले ५० करोड रुपैयाँ र राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ४८ करोड १७ लाख रुपैयाँ ऋण उपलब्ध गराउनेछन्। उक्त ऋण लगानी सम्बन्धी सम्झौता आइतबार औपचारिक रूपमा सम्पन्न गरिएको हो।
यो आयोजनाको कुल लागत १४० करोड २५ लाख रुपैयाँ रहने अनुमान गरिएको छ। बाँकी रकम प्रवर्द्धक कम्पनी पाँच खपन जलविद्युत प्रालिले स्व–पूँजी र अन्य स्रोतबाट जुटाउने योजना बनाएको छ।
कम्पनीका अनुसार आयोजनाको इलेक्ट्रो–मेकानिकल काम अष्ट्रियाको जेपर्ट ग्रुपसँगको सहकार्यमा अगाडि बढाइएको छ। कम्पनीका अध्यक्ष वसन्त कुमार तामाङका अनुसार, सम्झौताअनुसार जेपर्ट ग्रुपले एक वर्षभित्र सम्पूर्ण उपकरण आपूर्ति र जडानको काम पूरा गर्नेछ।
जेपर्ट ग्रुपले हालसम्म नेपालका १९ वटा जलविद्युत आयोजनामा काम गरिसकेको छ। तीमध्ये ९ वटा आयोजना सञ्चालनमा आइसकेका छन्।













