९ श्रावण २०८३, शनिबार

डेढ महिनापछि खुल्याे धितोपत्र बोर्ड, काममा फर्किए कर्मचारी



काठमाडौँ। डेढ महिनादेखि कर्मचारी आन्दोलनका कारण ठप्प रहेको नेपाल धितोपत्र बोर्डको काम आजदेखि नियमित रूपमा सञ्चालनमा आएको छ।

अर्थ मन्त्रालयले कर्मचारीको सेवा सुविधा कटौती हुनेगरी पठाएको पत्र पठाएपछि आन्दोलनमा उत्रिएका कर्मचारीहरूको माग पूरा गर्नेगरी सहमति भएसँगै उक्त बोर्डको नियमित कामकारबाही सुचारु भएको हो ।

बोर्डका सबै कर्मचारी आजदेखि नियमित रूपमा कार्यस्थलमा हाजिर भएको नेपाल धितोपत्र कर्मचारी युनियनका अध्यक्ष अजय ढुंगानाले जानकारी दिए। उनले एक साताभित्र सहमति कार्यान्वयन नभए आन्दोलन पुनः सुरु हुन सक्ने चेतावनी पनि दिए।

आइतबार मन्त्रालयले पठाएको पत्रको अध्ययन गर्न समिति गठन गर्ने निर्णयसँगै बोर्ड र कर्मचारीबीच सहमति बनेको थियो।

कामकाज पुनः सुरु भएपछि रोकिएका सेयर निष्कासन अनुमति र अन्य प्रशासनिक कार्य पनि अगाडि बढ्न थालेका छन्। हाल बोर्डमा ७४ वटा कम्पनीका ५४ अर्ब १५ करोड रुपैयाँभन्दा बढीका आईपीओ, झन्डै पौने ६ अर्बको हकप्रद सेयर, र २३ करोड रुपैयाँको एफपीओ पाइलाइनमा रहेका छन्।

आन्दोलनका क्रममा कर्मचारीहरूले बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठको राजीनामा मागेका थिए, तर हालका लागि सो मागलाई स्थगित गरिएको छ।


प्रतिक्रिया दिनुहोस्