बैंकिङ क्षेत्र सुस्त : निक्षेप र कर्जा दुवै कमजोर, कुन बैंकको व्यवसाय कस्तो ?
काठमाडौं । अहिले बजार माग घट्दो छ । जेनजी आन्दोलन र राजनीतिक अस्थिरतनाले लगानीको माहोल पनि सुस्त छ । जसका कारण बैंकहरुे निक्षेप संकलन र कर्जा प्रवाह दुवैमा दबाबमा देखिन्छन् ।
निक्षेप वृद्धिदर पनि न्यून छ भने कर्जा प्रवाह पनि कमजोर देखिएको छ । विशेषगरि बैंकहरुले हालै प्रकाशन गरेको चालु आर्थिक वर्ष २०८२–८३ को पहिलो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । गत आवको असोज मसान्तसम्मको तुलनामा बैंकहरुको निक्षेप संकलन र कर्जा प्रवाह सुस्त देखिन्छ ।
गत आवको पहिलो त्रैमासमा २० वटा वाणिज्य बैंकहरुको निक्षेप संकलन ६४ खर्ब ४३ अर्ब ५० करोड ३४ लाख रुपैयाँ रहेको थियो । तर, चालु आवको सोही अवधिमा आइपुग्दा भने ३.३४ प्रतिशत मात्रै बढेको छ । गत असोज मसान्तसम्म आइपुग्दा थप २ खर्ब १५ अर्ब ५४ करोड २० लाख रुपैयाँ बढेर ६६ खर्ब ५९ अर्ब ४ करोड ५५ लाख रुपैयाँ कायम भएको छ ।

निक्षेप वृद्धिदरको आधारमा नेपाल एसबिआई बैंक अगाडि छ । समिक्षा अवधिमा बैंकको निक्षेप संकलन ६.७ प्रतिशत वृद्धि भई २ खर्ब १२ अर्ब ९७ करोड ९० लाख रुपैयाँ कायम भएको छ ।
दोस्रो सूचीमा रहेको नबिलको निक्षेप पनि ६.०७ प्रतिशत बढेर ५ खर्ब ५६ अर्ब ६१ करोड ८५ लाख रुपैयाँ पुगेको छ । तेस्रो स्थानमा रहेको ग्लोबल आइएमई बैंकको निक्षेप पनि ५.७४ प्रतिशत बढेर ५ खर्ब ८२ अर्ब २५ करोड ४६ लाख रुपैयाँ कायम भएको छ ।
यस्तै, एनआइसी एशियाको पनि ५.७२ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकको ५.५३ प्रतिशत, कृषि विकासको ५.४६ प्रतिशत, माछापुच्छ्रेको ५.०८ प्रतिशत, एभरेष्टको ५.०४ प्रतिशत र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ४.५५ प्रतिशत वृद्धि भएको छ ।
समिक्षा अवधिमा सिद्धार्थ, कुमारी र प्राइम कमर्सियल बैंकको निक्षेप भने क्रमश: २.५२ प्रतिशत, १.१६ प्रतिशत र ०.६१ प्रतिशत घटेको छ ।
निक्षेप रकमको आधारमा भने ग्लोबल आइएमई बैंक शीर्ष सूचीमा छ । बैंकको कुल निक्षेप ५ खर्ब ८२ अर्ब २५ करोड ४६ लाख रुपैयाँ कायम भएको छ । दोस्रोमा रहेको नबिलको ५ खर्ब ५६ अर्ब ६१ करोड छ ।

कर्जा प्रवाह पनि सुस्त, कसले कति दिए ऋण ?
निक्षेप संकलन मात्रै होइन, कर्जा प्रवाह पनि सुस्त छ । एक वर्षको अवधिमा कर्जा प्रवाह साढे १ प्रतिशत मात्रै वृद्धि भएको छ ।
जेनजी आन्दोलनपछि निजी क्षेत्रको मनोबल पनि कमजोर भएको छ । जसले कर्जाको माग थप घटेको छ । विवरण अनुसार चालु आवको पहिलो त्रैमासमा आइपुग्दा बैंकहरुको १.६१ प्रतिशत बढेर ४७ खर्ब ३८ अर्ब ६३ करोड ६२ लाख रुपैयाँ कायम भएको छ । जबकि, गत आवको पहिलो त्रैमासमा बैंकहरुले कुल ४६ खर्ब ६३ अर्ब ९ करोड ८५ लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।

कर्जा प्रवाहको मामलामा भने एभरेष्ट बैंक अगाडि देखिएको छ । बैंकले कर्जा प्रवाह ६.५१ प्रतिशत बढेर २ खर्ब २७ अर्ब ३४ करोड ५८ लाख रुपैयाँ कायम भएको छ । दोस्रो स्थानमा रहेको माछापुच्छ्रेले पनि ५.१ प्रतिशत बढाएर १ खर्ब ४८ अर्ब ६५ करोड पुर्याएको छ ।
समिक्षा अवधिमा कुमारीको कर्जा प्रवाह ३.२४ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकको ३.०७ प्रतिशत, नेपाल एसबिआईको २.९७प्रतिशत, ग्लोबलको २.७१ प्रतिशत, लक्ष्मी सनराइजको २.६६ प्रतिशत, एनएमबिको २.४३ प्रतिशत, प्राइमको २.१३ प्रतिशत वृद्धि भएको छ ।
तर, एनआइसी एशियाको ५.३१ प्रतिशत, स्ट्याण्डर्ड चार्टर्डको ३.८ प्रतिशत, कृषि विकासको ०.०८ प्रतिशत, र हिमालयन बैंकको ०.०५ प्रतिशत घटेको छ । यता, सिटिजन्सको भने करिब स्थिर छ ।














