दिल्लीको लाल किल्ला मेट्रो स्टेसन नजिकै कार विस्फोट हुँदा १३ जनाको मृत्यु
काठमाडाैं । दिल्लीको लाल किल्ला मेट्रो स्टेसन नजिक सोमबार साँझ एउटा कार विस्फोट हुँदा मृत्यु हुनेकाे संख्या १३ पुगेकाे छ भने कम्तिमा २४ जना घाइते भएका छन्।
उक्त विस्फोट साँझ ६ः५२ बजे लालकिल्ला मेट्रो स्टेशन नजिकै पार्क गरिएको ह्युन्डाई आइ–२० कारमा भएको भारतिय सञ्चार माध्यमहरुले जनाएका छन्।। विस्फोटपछि वरिपरि रहेका कारहरू क्षतिग्रस्त बनेका छन् भिडियोमा देख्न सकिन्छ ।
विस्फोटको आवाज वरिपरिका भवनहरूमा समेत सुनिएको स्थानियले बताएका छन् ।
विस्फोट भएको कारमा २–३ जना थिए। गाडी पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। फरेन्सिक टोलीले नमूना संकलन गरिरहेको छ।
विस्फोटपछि दिल्लीमा उच्च सतर्कता जारी गरिएको छ। महाराष्ट्र, कोलकाता र उत्तर प्रदेशमा पनि सुरक्षा सतर्कता बढाइएको छ।
विस्फोटपछि तीनदेखि चारवटा गाडीमा आगो लागेको र सातवटा दमकल गाडी घटनास्थलमा पठाइएको दिल्ली अग्निनियन्त्रण सेवाले जनाएकाे छ ।
प्रहरीको टोलीले सम्पूर्ण क्षेत्र घेराबन्दी गर्दै सहरभर उच्च सतर्कता जारी गरेको छ भने गेट नम्बर १ र ४ बाट प्रवेश गर्ने र निस्कने बाटो बन्द गरेको छ। मेट्रो सेवा भने सामान्य रूपमा सञ्चालन भइरहेको छ।













