सेयर बजारबाट वाणिज्य बैंकहरू फाइदामा : दोहोरो अंकमा बढ्यो कमाई, कुन बैंकले कति कमाए ?
काठमाडौं । सेयर कारोबारबाट हुने वाणिज्य बैंकहरुको कमाई दोहोरो अंकमा वृद्धि भएको छ । तीन महिना बैंकहरुले साढे २ अर्ब बढी कमाई सेयर कारोबारबाट गरेको देखिन्छ ।
बैंकहरुले हालै प्रकाशन गरेको चालु आर्थिक वर्ष २०८२–८३ को पहिलो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।
गत साउनदेखि असोज मसान्तसम्म आइपुग्दा बैंकहरुले २ अर्ब ६४ करोड ३६ लाख रुपैयाँ आम्दानी सेयर कारोबारबाट गरेका छन् । यो गत आवको सोही अवधिको तुलनामा भने २३.७३ प्रतिशत बढी हो । गत आवको पहिलो त्रैमासमा बैंकहरुले २ अर्ब १३ करोड ६६ लाख रुपैयाँ बराबरको आम्दानी गरेका थिए ।
नेपाल राष्ट्र बैंकले बैंकहरुलाई चुक्ता पुँजीको १ प्रतिशत सेयर बजारमा लगानी गर्न पाउने सुविधा दिएको छ । सो सुविधामार्फत बैंकहरुले सेयर बजारमा गरेको लगानी नेट ट्रेडिङ इनकममा देखाउनुपर्ने प्रावधान छ ।
समिक्षा अवधिमा अधिकांश बैंकहरुले यस्तो आम्दानी बढाएका छन् । तर, नेपाल बैंकको ३२.१९ प्रतिशत, कृषि विकास बैंकको यस्तो आम्दानी भने १६ करोड ५० लाख रुपैयाँ ऋणात्मक देखिन्छ । यी बाहेक प्रभू बैंकको २५.४९ प्रतिशत र सानिमाको १०.१९ प्रतिशत घटेको छ । अन्य बैंकहरुले भने सेयर कारोबारबाट हुने कमाई उच्च दरमा बढाएका छन् ।
यस्तो कमाई सर्वाधिक गर्नेमा ग्लोबल आइएमई बैंक शीर्ष सूचीमा छ । बैंकले तीन महिनामा सेयर कारोबारबाट २८ करोड ४२ लाख ६६ हजार रुपैयाँ कमाएको छ । यो गत आवको तुलनामा भने ६७.३९ प्रतिशत धेरै हो ।
दोस्रो स्थानमा रहेको राष्ट्रिय वाणिज्य बैंकले २२ करोड ६१ लाख रुपैयाँ आम्दानी गरेको छ । जबकि, गत आवमा बैंकको यस्तो आम्दानी १ करोड ८ लाख रुपैयाँ ऋणात्मक थियो ।
तेस्रो सूचीमा रहेको नबिल बैंकले पनि सेयर कारोबारबाट हुने कमाई २९.८९ प्रतिशत बढाएर २२ करोड ५० लाख रुपैयाँ पुर्याएको छ ।
यस्तो कमाई बढाउनेको पहिलो सूचीमा लक्ष्मी सनराइज बैंक छ । समिक्षा अवधिमा बैंकको यस्तो कमाई १९३.७३ प्रतिशत वृद्धि भई २१ करोड ४४ लाख रुपैयाँ कायम भएको छ ।
यता, दोस्रो स्थानमा रहेको हिमालयन बैंकको पनि १०९.६४ प्रतिशत बढेर २० करोड ६१ लाख रुपैयाँ कायम भएको छ ।
यस्तै, एनआइसी एशिया बैंकको पनि ८६.८८ प्रतिशत, प्राइमको ८६.०६ प्रतिशत, कुमारीको ७४.३१ प्रतिशत, एनएमबिको ७३.९७ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ७२.२९ प्रतिशत, माछापुच्छ्रेको ६१.९१ प्रतिशत, सिद्धार्थको ५७.६० प्रतिशत, सिटिजन्सको २५.३२ प्रतिशत, एभरेष्टको २३.७७ प्रतिशत, नेपाल एसबिआईको १८.२९ प्रतिशत र स्ट्याण्डर्ड चार्टर्डको १८.११ प्रतिशत वृद्धि भएको छ ।
सेयर कारोबारबाट कुन बैंकले कति कमाए ?














