नेवानीको महाप्रबन्धक नियुक्ति प्रक्रिया अघि बढ्यो, १५ दिनभित्र दरखास्त दिन आह्वान
काठमाडौं। नेपाल वायुसेवा निगमले रिक्त रहेकाे महाप्रबन्धक पदका लागि दरखास्त आह्वान गरेको छ ।
निगमकाे छनोट समितिले बिहिबार एक सूचना जारी गर्दै इच्छुक उम्मेदवारहरूलाई १५ दिनभित्र दरखास्त दिन आह्वान गरेको हाे ।
‘नेपाल वायु सेवा निगम, काठमाडौंको रिक्त महाप्रबन्धक पदमा खुला प्रतिस्पर्धात्मक प्रतियोगिताद्वारा नियुक्ति गर्नुपर्ने भएकोले योग्यता पुगेका इच्छुक उम्मेदवारहरूले यो सूचना प्रकाशन भएको मितिले १५(पन्ध्र) दिनभित्र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, सिंहदरबार, काठमाडौंमा आवेदन दिनु हुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ’, सूचनामा भनिएको छ।
आवेदन फाराम, उम्मेदवारको योग्यता तथा अनुभव, पेश गर्नुपर्ने कागजातहरू, परीक्षाको छनौट विधि, पारिश्रमिक तथा सुविधा र अन्य आवश्यक विवरण संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको वेबसाइटमा उपलब्ध रहेको सूचनामा उल्लेख छ ।
निगमको महाप्रबन्धक खुला प्रतिस्पर्धाबाट नियुक्त गर्न प्रधानमन्त्री सुशीला कार्कीले सिफारिस समितिका अध्यक्ष पर्यटन मन्त्रालयका सचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा १४ कात्तिकका दिन छनोट समिति गठन गरेकी थिइन् ।
समितिलाई एक महिनाभित्र खुला प्रतिस्पर्धाबाट योग्य उम्मेदवार छनोट गरी सिफारिस गर्ने कार्यभार दिइएको थियो । तर समितिको एउटा पनि बैठक नबसे पछि प्रधानमन्त्रीले अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्याय समेतको उपस्थितिमा पर्यटन मन्त्रालयका सचिव मैनालीसँग स्पष्टीकरण सोधेकी थिइन् ।
महाप्रबन्धक नियुक्तिका लागि सिफारिस समितिका अध्यक्ष मैनालीले बुधबार कार्यविधि तयार पारेर प्रधानमन्त्रीले स्वीकृत गरिसकेपछि बिहिबार दरखास्त आह्वान गरिएकाे हाे ।













