सुप्रिम सहकारी प्रकरण : रवि र छविको मुद्दाको मिसिल झिकाउन आदेश
काठमाडौं । सुप्रिम सहकारी ठगी प्रकरणमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्व डीआईजी छविलाल जोशीको मुद्दामा उच्च अदालत तुलसीपुर बुटवल इजलासले सर्वोच्च अदालतको सक्कल मिसिल झिकाउने आदेश दिएको छ ।
न्यायाधीश वासुदेव आचार्य र ओमप्रसाद अर्यालको इजलासले बिहीबार सो आदेश दिएको हो । बुटवलस्थित सुप्रिम सहकारीमा ठगी र संगठित अपराधको आरोपमा लामिछाने र जोशी दुवै पुर्पक्षका लागि थुनामा छन् ।
रविले आफ्नो भागको करिब २ करोड ७५ लाख रुपैयाँ बिगो दाखिला गरी बैंक जमानत पेस गरे पनि जिल्ला अदालतले रिहा नगरेपछि उनी उच्च अदालत पुगेका थिए ।
१० करोड ९९ लाख रुपैयाँ भन्दा बढी रकमको सामूहिक बिगो कायम रहेको उक्त प्रकरणमा लामिछाने हाल ललितपुरको नख्खु कारागारमा र जोशी भैरहवा कारागारमा रहेका छन् ।













