नयाँ रुपमा बजार आउँदै किया सेल्टोस, कोरियाबाट सुरु हुनेछ विश्वव्यापी लन्च
काठमाडौं । आगामी वर्षको कार बजार अहिले नै सेल्टोसको चर्चाले तातिन थालिसकेको छ ।
उपभोक्ता बीच निकै लोकप्रिय मानिएको यो एसयूभी २०२५ डिसेम्बरको दोस्रो साताभित्र आधिकारिक रूपमा सार्वजनिक हुने भएको छ । जसले नयाँ डिजाइन, अद्यावधिक प्रविधि र बलियो पावरट्रेनसहित प्रतिस्पर्धामा नयाँ उचाइ ल्याउने अपेक्षा गरिएको छ ।
कम्पनीका अनुसार नयाँ पुस्ताको सेल्टोसमा भित्र र बाहिर दुबैमा उल्लेखनीय परिमार्जन गरिएको छ । विशेषत: डिजेल भेरियन्टमा रहेको १.५ लिटर इन्जिन अब ६–स्पीड म्यानुअल, ६–स्पीड अटोमेटिक तथा नयाँ ७–स्पीड अटोमेटिक ट्रान्समिसन सहित उपलब्ध हुनेछ ।
बाहिरी तर्फ वर्टिकल एलइडी डीआरएल, परिमार्जित फ्रन्ट ग्रिल र अधिक प्रिमियम टच दिने आधुनिक इन्टेरियर डिजाइन समावेश गरिएको छ ।
मिडिया रिपोर्टहरूका अनुसार डिसेम्बर १० मा कोरियामा विशेष कार्यक्रममार्फत यस मोडलको पहिलो झल्को सार्वजनिक हुनेछ । त्यसपछि यो गाडी भारतसहित अन्तर्राष्ट्रिय बजारमा क्रमश: उपलब्ध गराइनेछ ।
सुरक्षाका हिसाबले पनि नयाँ सेल्टोस निकै सुदृढ बनाइएको बताइन्छ । यसमा छ वटा एयरब्याग, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, इलेक्ट्रोनिक पार्किङ ब्रेक तथा ३६०–डिग्री क्यामेरा सिस्टम जस्ता सुविधा पाइनेछन् ।
भारतमा यसको सुरुवाती मूल्य करिब ११ लाख ३० हजार रुपैयाँदेखि २२ लाख रुपैयाँसम्म रहने अनुमान गरिएको छ । बजारमा आएपछि यसले मारुति सुजुकी ग्रान्ड भितारा, हुन्डाइ क्रेटा, टायोटा अर्बन क्रुजर हाइराइडर, होन्डा इलेभेट तथा अन्य कम्प्याक्ट एसयूभीहरूसँग प्रत्यक्ष प्रतिस्पर्धा गर्नेछ ।













