उदियमान कलाकारलाई प्रोत्साहन गर्न ‘अनभेल्ड भिजन्स-२’ कला प्रदर्शनी सुरु
काठमाडौँ । चौधरी फाउन्डेसनको कला–संस्कृति प्रवर्द्धन कार्यक्रम ‘उन्नति’ ले उदाउँदो नेपाली कलाकारलाई प्रोत्साहित गर्ने उद्देश्यले ‘अनभेल्ड भिजन्स–२: ए जर्नी अफ इमर्जिङ ट्यालेन्ट’ नामक कला प्रदर्शनी सुरु गरेको छ ।
प्रदर्शनी २०२५ नोभेम्बर १४ देखि चितवन राष्ट्रिय निकुञ्ज नजिक मेघौली सेराइ, अ ताज सफारीमा सुरु भएको हो ।
यस प्रदर्शनीमा चार जना युवा नेपाली कलाकार सगुन थापा, प्रीति दुवाल, इभा केसी र अभिजित प्रजापतीका कलाकृतिहरू प्रदर्शन गरिएको छ । उनीहरूका प्रकृति, संस्कृति तथा व्यक्तिगत जीवनकथाबाट प्रेरित समकालीन चित्रकला मार्फत नयाँ पुस्ताको सिर्जनात्मक क्षमता झल्काइएको आयोजकले जनाएको छ ।
उन्नतिको उदाउँदा कलाकारलाई सहयोग गर्ने र नेपालमा कला–संस्कृतिप्रतिको सहभागिता बढाउने उद्देश्यसँग यो कार्यक्रम मेल खाने बताइएको छ ।
कार्यक्रम मेघौली सेराइ, ए ताज सफारी होटेलको साथ र सहयोगमा आयोजना गरिएको हो । शान्त र प्राकृतिक वातावरणले भरिएको होटल परिसरले कला र प्रकृति दुवैलाई नजिकबाट अनुभूत गर्न सकिने सुन्दर परिवेश बनेको आयोजकको भनाइ छ ।
उद्घाटन समारोह उन्नति कल्चरल भिलेजकी महाप्रबन्धक क्यामेल फेरियाको अध्यक्षतामा सम्पन्न भयो ।
चितवन राष्ट्रिय निकुञ्ज, चितवन उद्योग संघ, वुमन इन्ट्रप्रिनर्स फोरम, आर्टस्पेस, बराही होटल र इला कम्फर्टका प्रतिनिधिहरूको उपस्थितिले पनि युवा कलाकारप्रतिको सामुदायिक र संस्थागत समर्थन सुदृढ भएको देखिएको छ ।
प्रमुख अतिथि रिजालले यस कार्यक्रमको हिस्सा हुन पाउँदा निकै खुसी लागेको भन्दै कलाकारी, हस्तकला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा उन्नतिको प्रयास प्रशंसनीय रहेकाे बताए ।
त्यस्तै, दीवाकर पियाले उन्नतिले परम्परागत कला र हस्तकलाको हेरचाह र विकासमा उल्लेखनीय काम गर्दै आएको बताए ।कलाकारलाई दिगो पेशागत जीवनतर्फ अघि बढाउन सहयोग गर्नु अत्यन्त जरुरी रहेकाे भन्दै उनले प्रदर्शनीले यही प्रतिबद्धता देखाएको बताए ।
‘अनभेल्ड भिजन्स–२’ प्रदर्शनी २०२६ फेब्रुअरी १४ सम्मका लागि खुला रहनेछ । यस अवधिमा कलाप्रेमी र दर्शकहरूले उदीयमान नेपाली कलाकारहरूको नयाँ दृष्टिकोण र सिर्जनशील अभिव्यक्तिको नजिकबाट अवलोकन गर्न सक्नेछन् ।













