दुई बहुचर्चित एसयूभी लन्च गर्दै महिन्द्रा, कति होला न्यूनतम मूल्य ?
काठमाडौं । डिजाइन र प्रविधिमा लगातार नयाँ–नयाँ प्रयोग गरिरहेको महिन्द्राले अब फेरि भारतीय बजारलाई रोमाञ्चित पार्ने तयारी थालेको छ ।
कम्पनीले आउने महिनादेखि आफ्ना दुई बहुचर्चित एसयूभी सार्वजनिक गर्न लागेको हो । जसले, आगामी वर्षका लागि महिन्द्राको ‘न्यू–जेनेरेशन लाइनअप’ लाई अझ बलियो बनाउने संकेत गरेको छ ।
महिन्द्राले एक्सइभी ९एस र फेसलिफ्टेड एक्सयूभी७०० एसयूभीलाई बजारमा उतार्ने अन्तिम तयारी गरिरहेको छ । कम्पनीका अनुसार एक्सइभी ९एस को ग्लोबल डेब्यू २०२५ नोभेम्बर २७ मा हुनेछ । यता, परिमार्जित एक्सयूभी७०० भने २०२५ डिसेम्बर भित्र सार्वजनिक गर्ने कम्पनीको तयारी छ ।
दुवै मोडेल २०२६ को सुरुवातदेखि बजारमा बिक्रीका लागि उपलब्ध हुने अनुमान छ । एक्सइभी ९एस बाट प्रेरित रहेर तयार गरिएको नयाँ एक्सयूभी७०० मा डिजाइन र फिचरमा उल्लेख्य परिवर्तन भए पनि पावरट्रेन भने जस्ताको तस्तै राखिने महिन्द्राको भनाइ छ ।
फेसलिफ्टेड एक्सयूभी७०० मा बाहिरी स्वरूपमै ठूला परिवर्तन देखिनेछन् । अगाडिको भागमा विस्तारित एयर इनलेट, परिमार्जित ट्विन–पड हेडल्याम्प, नयाँ फ्रन्ट ग्रिल तथा अद्यावधिक एलइडी डीआरएल सिग्नेचर जस्ता सुधार सामेल हुनेछ ।
क्याबिनतर्फ पनि उल्लेखनीय परिवर्तन गरिएको बताइन्छ, जसले प्रिमियम फिनिस र आधुनिक प्रविधिक अनुभव दिनेछ ।
यद्यपि, डिजाइन र फिचरमा परिवर्तन आएपनि इन्जिन विकल्प भने उही २.० लिटर टर्बो पेट्रोल र २.२ लिटर टर्बो डिजेल हुनेछ । गियरबक्समा ६–स्पीड म्यानुअल र ६–स्पीड टर्क कन्भर्टर अटोमेटिक उपलब्ध हुनेछ । डिजेल अटो भेरियन्टका लागि अल–ह्वील–ड्राइभ (एडब्लुडी) विकल्प राखिने जानकारी छ ।
कति पर्नेछ मूल्य ?
हालको एक्सयूभी७०० भारतीय बजारमा १३.६६ लाखदेखि २३.७१ लाख भारतीय रुपैयाँ (एक्स–शोरुम) मूल्यमा उपलब्ध छ । नयाँ फिचर र परिष्कृत डिजाइनका कारण फेसलिफ्टेड मोडेलको मूल्यमा केही वृद्धिको सम्भावना महिन्द्राले संकेत गरेको छ ।
नयाँ पुस्ताको महिन्द्रा एसयूभीको आगमनले भारतीय बजारमा फेरि प्रतिस्पर्धा चर्किने निश्चित छ ।












