आईपीओ निष्काशन गर्दै टिम भेञ्चर्स, बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

आईपीओ निष्काशन गर्दै टिम भेञ्चर्स, बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल



काठमाडौं । टिम भेञ्चर्स लिमिटेडले प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने तयारी गरेको छ । यसका लागि कम्पनीले सिद्धार्थ क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा नियुक्त गरेको छ ।

कम्पनीले कुल २५ लाख १८ हजार कित्ता शेयर सर्वसाधारणमा निष्काशन गर्न लागेको हो । यस सम्बन्धमा २०८२ साल मंसिर ०८ गते, काठमाडौंको नक्सालस्थित सिद्धार्थ क्यापिटल लिमिटेडको कार्यालयमा दुबै पक्षबीच औपचारिक सम्झौता सम्पन्न भएको हो।

सम्झौतापत्रमा टिम भेञ्चर्स लिमिटेडका अध्यक्ष केसांग श्रेष्ठ र सिद्धार्थ क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृतसन्दिप कार्कीले हस्ताक्षर गरे ।

सिनामंगल, काठमाडौंमा स्थित कार्यालय रहेको टिम भेञ्चर्स लिमिटेड वि.सं. २०७३ सालमा स्थापना भएको इनभेष्टमेन्ट कम्पनी हो । उक्त कम्पनीको हाल चुक्ता पूँजी एक अर्ब रहेको छ । कम्पनीले हाल ऊर्जा क्षेत्र (हाइड्रोपावर र सोलार), उत्पादन क्षेत्र (माछा दाना, टीएमटी, प्रि–इन्जिनियर्ड बिल्डिङ, स्टिल), कृषि–पूर्वाधार र प्रविधि क्षेत्रमा लगानी गरेको छ ।

भविष्यमा कम्पनीले लगानीका अन्य श्रेत्रमा अवसरहरू खोज्ने योजना बनाएको छ । उक्त कम्पनीको अन्य संचालकमा लोप्साङ श्रेष्ठ, दोर्जे ग्याल्छेन लामा, साङ्गे दिकी शेर्पा र विजय बहादुर श्रेष्ठ रहेका छन् भने प्रमुख कार्यकारी अधिकृतमा तेन्जिङ सोनाम गोन्सार रहेका छन् ।


प्रतिक्रिया दिनुहोस्