अबुधाबीमा रुस-युक्रेन शान्ति वार्ता चलिरहँदा दुबै देशबीच घातक आक्रमण
काठमाडौं । रुस युक्रेन युद्ध अन्त्य गर्ने प्रस्तावित योजना बारे अमेरिकी अधिकारी र रुसी अधिकारीहरु बीच सोमबार आबुधाबीमा वार्ता भएको छ । दुबै देशका अधिकारी बीचको वार्ता मंगलबार पनि जारी छ ।
अमेरिकाले युद्धको समाधानका लागि नयाँ पहल थालेसँगै पछिल्ला केही दिनदेखि भएका तीव्र कूटनीतिक प्रयासहरूपछि यो वार्ता सम्भव भएको हो ।
यो बैठक त्यसपछि अमेरिकी र युक्रेनी अधिकारीहरूले युक्रेनमा युद्ध अन्त्य गर्ने योजनाबारे आफ्नो बीचका मतभेदहरू घटाउने प्रयास गरेकाे बताइएकाे छ।
किभ र उसका युरोपेली सहयोगीहरूले क्रेमलिनका मागहरूको सूचीजस्तै देखिएको प्रारम्भिक अमेरिकी प्रस्तावलाई संशोधन गर्न दुवै पक्ष सहमत भएका छन् ।
जिनेभामा २८ बुँदे शान्ति प्रस्तावमाथि भएको वार्तापछि राष्ट्रपति डोनाल्ड ट्रम्प सम्झौता हुन सक्छ भन्नेमा आशावादी र सकारात्मक रहेको ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटलाई उधृत गर्दै सीएनएनले लेखेको छ ।
उक्त प्रस्ताव अमेरिकाद्वारा रूसी र युक्रेनी सुझावसहित तयार गरिएको थियो। प्रस्तावको पहिलो मस्यौदामा किभले आफ्नो भूभाग छाड्नु पर्ने, नेटोमा सामेल हुने आकांक्षा त्याग्नु पर्ने र आफ्नै सेनाको आकार सीमित गर्नु पर्ने प्रावधानहरू उल्लेख छन् ।
युद्ध अन्त्यका लागि कूटनीतिक प्रयास जारी रहँदा दुबै देशले एकअर्कामाथि घातक आक्रमण गरेका छन् ।
रुसी आक्रमणले युक्रेनको राजधानी किभमा ६ जनाको मृत्यु भएको छ भने रूसको रोस्तोभ क्षेत्रमा ३ जना रुसी नागरीक मारिएका छन् ।
रूसको रक्षा मन्त्रालयका अनुसार मंगलबार राति २४९ वटा युक्रेनी ड्रोन खपत गरिएको दाबी गरेको छ।













