१३.५२ अंकले घट्यो नेप्से, ५ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट
काठमाडाैं । बुधबार पनि सेयर बजारमा दाेहाेराे अंककाे गिरावट आएको छ । आइतबारदेखि लगातार घटेकाे सेयर बजार आज चाैथाे दिन पनि १३.५२ अंकले घटेर २६ सय ३१ दशमलव १७ बिन्दुमा झरेकाे छ ।
नेप्से परिसूचक घटे पनि मंगलबारकाे तुलनामा आज काराेबार रकम भने बढेकाे छ । यसदिन ३३२ कम्पनीकाे १ कराेड ८ लाख ७३ हजार ३७२ कित्ता सेयर खरिदबिक्रि हुँदा ५ अर्ब २३ कराेड ५६ लाख ९९ हजार रूपैयाँकाे काराेबार भएकाे छ ।
हिजाे ३ सय २४ वटा कम्पनीको १ करोड ८ लाख १० हजार १०६ कित्ता शेयर ४ अर्ब ४८ करोड १३ लाख ९४ हजार रुपैयाँमा किनबेच भएको थियाे ।
आज फाइनान्स, हाेटल तथा पर्यटन, उत्पादन तथा प्रशाेधन र म्युच्युअल फण्ड समुहकाे सेयर बढेकाे छ भने बाँकी सबै समुहकाे सेयर घटेकाे छ । आज फाइनान्स समुहकाे सर्वाधिक १.५९ प्रतिशत बढेकाे छ भने जीवन बीमा समुहकाे सेयर १.१८ प्रतिशत घटेकाे छ ।
बजार घटेकाे दिन ५ कम्पनीकाे सेयर मूल्यमा सकारात्मक सर्किट लागेकाे छ । आज सागल डिष्टिलरी, मिथिला लघुवित्त र झापा इनर्जीकाे सेयर मूल्य १० प्रतिशत बढेकाे छ भने स्वस्तिक लघुवित्त र श्रीनगर एग्रिटेककाे सेयर मूल्य ९.९९ प्रतिशत बढेका छन् ।
















